तरुण दलको महाधिवेशन पार्टीको प्रत्यक्ष निगरानीमा आगामी मङ्सिरमा गर्ने कार्यतालिका पेस
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलको महाधिवेशन पार्टीको प्रत्यक्ष निगरानीमा आगामी मङ्सिरमा गर्ने कार्यतालिका पेस भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहित देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा तरुण दलको महाधिवेशन गराउन सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ को संयोजकत्वको निर्देशन समितिले मङ्सिरमा महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गरेको हो । सहमहामन्त्री उपाध्यायले असारबाट सुरु गरेर मङ्सिरमा महाधिवेशन गर्ने कार्यतालिका आफूहरूले पेस गरेको जानकारी दिइन् । ‘हामीले असारबाट सुरु गरेर मंसिरका केन्द्रीय महाधिवेशन सक्ने कार्यतालिका पेस गरेका छौँ,’ सहमहामन्त्री उपाध्यायले रातोपाटीसँग भनिन्, ‘त्यो कार्यतालिका पार्टीले अनुमोदन गरेर पार्टीकै सक्रियतामा गर्ने गरी हामी अगाडि बढेका छौँ । उनका अनुसार संगठनका पूर्णकालीन सदस्यता वितरणको काम असार १५ गतेसम्म सक्ने, असार मसान्तभित्र वडा तहको अधिवेशन सक्ने र भदौमा पालिका अधिवेशन सक्ने कार्यतालिका छ । त्यस्तै असोजमा जिल्ला अधिवेशन र मङ्सिरमा राष्ट्रिय अधिवेशन सक्ने कार्यतालिका आफूहरूले पार्टीलाई दिएको सहमहामन्त्री उपाध्यायले जानकारी दिइन् ।
बैठकमा सभापति देउवासहित उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा, निर्देशन समिति संयोजकसमेत रहेकी उपाध्याय निर्देशन समितिमा रहेका कांग्रेस केन्द्रीय सदस्यहरू सरिता प्रसाई र जितजंग बस्नेत र तरुण दलको तदर्थ समिति संयोजक विद्वान गुरुङ सहभागी थिए । तरुण दलको वर्तमान कार्यसमितिले महाधिवेशन गर्न सक्ने छाँट नदेखिएपछि पार्टीले आफै अगाडि बढेर महाधिवेशन गराउन लागेको हो । ‘पार्टीले नै ‘वन’ गरी पार्टीले हामीले बुझाएको कार्यतालिका अनुमोदन गरेर जिल्ला जिल्लाको पार्टी समितिलाई पठाएर पार्टीले नै महाधिवेशन गर्ने हो,’ सहमहामन्त्री उपाध्यायले भनिन् । लामो समयसम्म तदर्थ समिति संयोजक गुरुङले अधिवेशनको प्रक्रिया अगाडि बढाउन सकेका थिएनन् । उनले लमजुङमा अधिवेशन गराउन लाग्दा खुकुरी हानाहान भएको थियो ।