युद्ध विभीषिकाको सन्त्रास
रुस–युक्रेन युद्धको मार खेपिरहेको मानव जातिमाथि इजरायल–इरान युद्धको अर्को सङ्कट आइलागेको छ । युद्ध जहिले पनि विनाशको कारक बनेर आउँछ । पूर्वीय समाजमा महाभारतलाई सबभन्दा घातक र विनाशक घटनाका रूपमा लिइन्छ । त्यसैले अस्वाभाविक द्वन्द्व, टकराब र झगडालाई महाभारत भन्ने गरिन्छ ।
हाम्रो शास्त्रहरूमा अनेक युद्ध सम्बन्धी घटनाको जिकिर छ । रामायण र महाभारत त युद्धकै गाथाले भरिएका ग्रन्थ हुन । युद्ध हुनलाई कुनै कारण आवश्यक पर्छ । पहिलो र दोस्रो विश्वयुद्धले संसारलाई नै तबाह गराएको थियो । आफ्नो वर्चस्व स्थापित गर्ने र दुनियाँमा सर्वश्रेष्ठ कहलिनकै लागि पनि युद्ध भड्काउने काम भएका छन् । कुनै देशसँग भएको खजाना हात पार्न, श्रम शक्तिमाथि प्रभुत्व जमाउनकै लागि पनि संसारमा युद्ध भएका छन् । दोस्रो विश्वयुद्धपछि संसारलाई युद्धको अनावश्यक कदमबाट रोक्न गठन भएको संयुक्त राष्ट्रसङ्घ समेत अहिले निरीह जस्तो भएको छ । पहिलो विश्वयुद्धपछि गठन भएको लीग अफ नेशन ले काम गर्न नसकेकै कारण दोस्रो विश्वयुद्ध भएको मानिन्छ । पहिलो विश्वयुद्धमा एक डेढ करोड मानिसको मृत्यु भएको अनुमान लगाइएको छ भने दोस्रो विश्वयुद्धमा ६ करोड भन्दा बढीको मृत्यु भयो । यस्ता घातक युद्धले मानिसको ज्यान मात्र लिँदैनन् । बरु मानव जातिको विनाशक कारण बन्छन् । शान्तिको पक्षधर शक्तिलाई जवर्जस्ती युद्धमा होम्ने काम शक्ति राष्ट्रबाट बारम्बार भएको छ । दोस्रो विश्वयुद्धपछि शक्तिमा आएका संयुक्त राज्य अमेरिका र सोभियत सङ्घले थुप्रै युद्ध घटना घटाएका छन् । दोस्रो विश्वयुद्धपछि संसार नै दुई धुर्वमा बाँडिएको थियो ।
सन १९९० सम्म त्यो स्थिति कायम रह्यो । संसार दुई ध्रुवमा बाँडिएको वेला बरु युद्ध कम भएका थिए । सोभियत युनियनको विघटनपछि अमेरिकाको दादागिरी चल्यो । उसले इराक, अफगानिस्तान, लिविया, इजिप्ट आदिमाथि नेटोको सहयोगमा आक्रमण मात्र गरेन, तिनलाई ध्वस्त नै बनायो । ठुला शक्तिशाली राष्ट्रले कमजोर र साना राष्ट्रमाथि गर्ने हमलाको त औचित्य पनि सिद्ध गर्नु पर्दैन रहेछ । अहिले पनि धेरै जसो युद्धजन्य घटना अमेरिकाकै स्वीकृतिमा हुने गरेको छन् । अहिले युद्धमा घटना अमेरिकाकै स्वीकृतिमा हुने गरेका छन् । अहिले युद्धमा होमिएका इरान–इजरायलमा इजरायललाई अमेरिकाको खुल्ला समर्थन छ । इजरायललाई समर्थन गर्ने प्रतिस्पर्धामा जर्मनी, फ्रान्स समेतका देशहरू छन् । इरान इराकबिचको लामो युद्ध, बारम्बार प्यालेष्टाइनमाथि इजरायलको आक्रमणले पश्चिम एसिया युद्ध र अशान्तिको केन्द्र रहँदै आएको छ । प्यालेष्टाइन भूमिमाथि इजरायलको हस्तक्षेपलाई पश्चिमा राष्ट्रहरूको सधैँ साथ सहयोग रहँदै आएको छ । त्यही कारणले मानव जातिमाथि नै कलङ्क लाग्ने आक्रमणमाथि पनि प्रश्न उठाउने आँट कसैले गरेन ।
केही राष्ट्रहरूको स्वार्थका कारण संसारभरिकै जनतामाथि सङ्कट आइलाग्ने युद्धजन्य क्रियाकलाप हुनु ठुलो दुर्भाग्य हो । युद्धमा सिर्फ मान्छे मार्ने काम मात्र हुँदैन, मानवीय आवश्यकताका बस्तु उत्पादन आपूर्तिमाथि पनि समस्या खडा गरिन्छ । बालबालिका, सुत्केरी, वृद्ध वृद्धा, बिरामीको जीवन नै समस्यामा पर्छ । तिनका औषधी, खाध्यन्न आदि आपूर्ति हुन नसक्दा अर्कै सङ्कट उत्पन्न हुन्छ । खाद्यान्न इन्धन, लत्ताकपडा जस्ता दैनिक जीवनमा आवश्यक पर्ने साधनको आपूर्तिमाथि गम्भीर सङ्कट उत्पन्न हुन्छ । नेपाल र नेपाल जस्तो विपन्न मुलुकका जनता त रोजगारीका लागि संसारभरि छरिएर रहेका छन् । नेपाली युवा त संसारका धेरै देशका फौजी सेवामा पनि छन् । यस्ता युद्धले तिनको जीवन, तिनका परिवार र नरनाताको जीवनमाथि समेत अप्रिय स्थिति निम्त्याउँछ । अहिले पश्चिम एसिया, त्यसमा पनि इजरायलमा रोजगार रहेका नेपालीहरूको जीवन सङ्कटमा परेको छ । नेपालीहरू सानो सङ्ख्यामै भए पनि इरानमा पनि छन्, तिनीहरूमाथि पनि समस्या परेको छ । फेरी सङ्कटको वेला जोखिम मोलेर धेरै आर्थिक लाभ लिन खोज्ने नेपालीको चरित्रले थप सङ्कट निम्त्याउन सक्छ । अफगानिस्तान, इराकमा अमेरिकी आक्रमणताका थुप्रै नेपाली त्यहाँ फसेका थिए । इराकमा सत्र जना नेपालीको अपहरण र हत्याको घटनाले त संसारै हल्लाएको थियो । अहिले युक्रेन रुस युद्धमा सहियौँ नेपाली युवा हताहत भइसकेको छन् । रुसी सेनामा जाने नेपालीको सम्बन्धमा बारम्बार प्रश्न उठिरहेको छ ।
यो विषयमा नेपाल सरकारले पर्याप्त चासो नदेखाएको कुरा उठेको छ । अहिले इजरायलबाट नेपाली फर्काउन सरकारले पहलकदमी सुरु गरेको छ तर विकल्प बिनै फर्काउन खोज्दा त्यो कदम पनि प्रभावकारी हुने सम्भावना छैन । नेपाल सरकारले दुनियाँमा हुने सबै युद्ध रोकाउन सक्दैन तर आफ्ना नागरिकलाई आफ्नै देशमा रोजगारी दिने, अन्यत्र भड्किनु नपर्ने अवस्था मात्रै सिर्जना गर्न सक्यो भने पनि ठुलो कुरा हुनेछ ।