शुभकामना साकोसले मनायो २६औं स्थापना दिवस, असल ऋणी सम्मानित
भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रमको आयोजना गरी २६ औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य रुकेश रञ्जित रहेका थिए । कार्यक्रममा बोल्दै रञ्जितले सदस्यको बचतको सुरक्षाको लागि सहकारी अध्यादेश ल्याउनु परेको बताए । शुभकामना जस्ता समुदायमा आधारित भई सदस्यको समृद्धिका लागि सञ्चालन भएका सहकारीलाई ऐनले कुनै समस्या नपार्ने उनले उल्लेख गरे । सदस्यको बचत लिएर दुरुपयोग गर्ने संस्था र त्यसका सञ्चालकलाई कानुनी दायरामा ल्याउन ऐन संशोधन गरिएको उनले प्रष्ट पारे । कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरि बल्लले सहकारी अध्यादेशको एउटा बुँदाले संघहरुलाई समस्या पारेको बताए । उनले मुलुकभर रहेका संघहरुले ९२ अर्बको कारोबार गर्दै आएको भन्दै तीन वर्षभित्र कारोबार बन्द गर्ने बुँदा व्यावहारिक नभएको जिकिर गरे । संघहरुको कारोबारलाई रोक्दा अभियान बलियो र यस क्षेत्र विकृति अन्त्य हुने हो त भनेर प्रश्न गरे । जिल्ला संघहरुले गरेको वित्तीय कारोबारले अभियान कमजोर नहुने र अभियानको प्रवर्धनमा नै टेवा पुग्ने उनले बताए । त्यसैगरी कार्यक्रममा जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष ध्रुवबहादुर रायमाझीले शुभकामना जिल्लाकै एक नमुना सहकारी भएको र समुदायमा केन्द्रीत भएर सदस्यको हितको लागि काम गर्दै आएको बताए । उनले सदस्यको हितमा काम गर्ने र समाजमा पहिचान बनाउनु सहकारीको काम रहेको भन्दै त्यो काम शुभकामनाले गरेको बताए ।

बचत ऋणको मात्र काम नगरी सामाजिक उत्तरदायित्वका काम समेत संस्थाले गर्दै आएकोमा उनले खुशी व्यक्त गरे । सीमित सहकारीमा देखिएको समस्यालाई आधार बनाएर यो क्षेत्रलाई सानो घेरामा राख्न खोजेको रायमाझीले गुनासो गरे । सो अवसरमा भक्तपुर बचत संघका निवर्तमान अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी अध्यादेश सम्बन्धमा अभिमुखीकरण गरेका थिए । संस्थाका अध्यक्ष कासुलाले ७ लाख ५० हजारबाट शुरु भएको सहकारीको शेयरपुँजी ११ करोड ९० माथि र जगेडा कोष १७ करोडमाथि पुगेको बताए । सदस्यहरुको विश्वास जित्न सकेका कारण संस्थामा ११ हजार सदस्य आवद्ध भएको र उनीहरुको आर्थिक सामाजिक रुपान्तरणमा संस्था क्रियाशील रहेको जानकारी दिए । सदस्यले संस्थामा गरेको बचत सुरक्षित रहेको भन्दै ढुक्क भएर कारोबार गर्न उनले आग्रह गरे । आर्थिक मन्दीले गर्दा भएको सुस्तता र व्यापार व्यवसायमा ह्रास आउँदा संस्थाको तरलता बढेर गएको उनको भनाइ छ । संस्थाका सचिव पुष्पलाल तिमिलाले सञ्चालन गरेका थिए। सो अवसरमा संस्थाले १० जना असल ऋणीहरुलाई सम्मान समेत गरेको थियो । संस्थाले स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविर,जेष्ठ सदस्य भ्रमण, रक्तदान र वातावरण सम्बन्धी कार्यक्रम आयोजना गरेको थियो।















