डीपी अर्याल र रामहरि खतिवडाबीच भिजिट भिसा प्रकरणलाई लिएर तीव्र नोकझोक
काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाबीच भिजिट भिसा प्रकरणलाई लिएर तीव्र नोकझोक भएको छ।
आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले नेपाली कांग्रेस सांसद खतिवडाले सुमिरे टुर एन्ड ट्राभल्सबारे दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै संसदको रेकर्डबाट हटाउन माग गरे । ‘कसैको निराधार आरोप संसदको रेकर्डबाट हटिनुपर्छ’, अर्यालले भने । उनले सुमिरे टुर एन्ड ट्राभल्स आफ्नो संस्था भएको स्पष्ट गर्दै आरोपको खण्डन गरे । खतिवडालाई जवाफ दिँदै डोलप्रसादले भने, ‘हो म गर्वका साथ भन्छु– सुमिरे टुर एन्ड ट्राभल्स मेरो कम्पनी हो ।’
खतिवडाले शनिबारको बैठकमा सुमिरे टुर एन्ड ट्राभल्सले भिजिट भिसाका नाममा अनियमितता गरेको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका थिए। ‘सुमिरे टुर एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो ?,’ खतिवडाले भनेका थिए, ‘विगत दश वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौं मान्छे पठाएर अर्बौं पैसा त्यहाँबाट लिएर संसद्मा प्रतिनिधित्व गर्ने र संसद्मा सांसद किनेर पार्टीमा प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ ।’
उक्त अभिव्यक्तिको जवाफमा आज अर्यालले संसदको शून्य समयमा बोल्दै सांसद रामहरि खतिवडालाई लक्षित गर्दै ‘काम गरेर खानेहरुले चोरेर खानेहरूलाई जवाफ दिँदै हिँड्नुपर्ने’ भन्दै जवाफ दिएका हुन् । उक्त अभिव्यक्ति दिएपछि माओवादी केन्द्रका सांसद अमनलाल मोदीले दुवै सांसदका अभिव्यक्ति संसदको मर्यादाविपरीत भएको भन्दै दुबै अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने धारणा राखे।