कुलिङ पिरियडः समितिका सभापति खतिवडाको राजीनामा माग्ने तयारी

काठमाडौँ । कुलिङ पिरियड घुसाउने राज्य ब्यवस्था सभापति रामहरी खतिवडालाई कारबाही गर्नु पर्ने माग उठेको छ ।

विधेयकमा किर्ते गरेर कुलिङ पिरियड हटाउने शब्द घुसाएको भन्दै यसको नैतिक जिम्मेवारी सभापति रामहरिले खतिवडाले लिनुपर्ने सांसदहरूको भनाइ छ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले यस्तो गम्भीर लापरवाही समिति सभापतिको सहयोगविना नहुने भन्दै राजीनामा दिनुपर्ने बताए । ‘विधेयकमा गम्भीर लापरबाही भएको छ । यसको छिनोफानो हुनुपर्छ र समिति सभापतिले राजीनामा दिनुपर्छ’, नेता पाण्डेको भनाइ छ ।

त्यस्तै एमाले सांसद पदम गिरीले पनि सभापति खतिवडाको राजीनामा मागिने बताए । ‘कर्मचारीको मात्र लापरबाही भन्न मिल्दैन यसमा सभापतिको समेत हात हुनसक्छ । त्यसैले उहाँको राजीनामा र छानबिन हुन जरुरी छ’, गिरीको भनाइ छ ।

त्यसैगरी नेकपा एमालेका सांसद सुर्य थापाले खतिवडालाई कारबाही गर्नु पर्ने माग गरे । ‘समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक’ शब्द छलछाम गरी घुसाउने को हो ? भन्दै थापाले भनेका छन, ‘राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले जिम्मेवारी लिनुपर्छ, यदि यस्तो गरेको तथ्य हो भने यो अत्यन्त गैरजिम्मेवार र जवाफदेहिताबिहीन कार्य क्षमायोग्य हुन सक्दैन’ उनले भने ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांसदलाई झुक्काएर ‘कुलिङ पिरियड’ घुसाउने राज्य ब्यवस्था सभापति रामहरी खतिवडाले राजिनामा दिनु पर्ने बताए । राज्य ब्यवस्था समितिमा रोकिएको ‘कुलिङ पिरियड’ संसदमा सो बिधेयक प्रतिबेदन लैजादाँ सभापति खतिवडाले घुसाएर पठाएर पास समेत गराएको भन्दै सांसद झाले राजिनामा माग गरेका हुन् ।

‘राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाज्यु, निजामती बिधेयकमा, तपाईले सङ्घीय सदनको रोस्टमबाट टेवल गरेको भन्दा फरक कुरा कसरी आयो रु’ झाले प्रश्न गर्दै भनेका छन कि, ‘कि यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस्।’ रास्वपाले अब राज्य ब्यवस्था सुशासन समितिका सभापति खतिवडाको राजिनामा माग गर्ने तयारी गरेको बुझिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *