शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले असार ३२ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले यही असार ३२ गतेदेखि १० वर्ष अवधि र वार्षिक ८ प्रतिशत ब्याजदर भएको ऋणपत्र ‘शाइन रेसुङ्गा डिबेञ्चर’ निष्कासन गर्ने भएको छ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। सोमध्ये ६ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। बाँकी रहेको ४ लाख कित्ता ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई बाँडफाँड गरी अन्त्यमा ३ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। यसमा आवेदन दिंदा कम्तीमा २५ कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा ५ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। निष्कासन बन्द छिटोमा साउन ४ गते हुनेछ तर उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा साउन १४ गतेसम्म लम्बिनेछ।

यो ऋणपत्रको १० वर्षे अवधि समाप्त भएपछि ऋणपत्रको साँवा र अन्तिम किस्ताको तिर्न बाँकी ब्याज रकम एकमुष्ठ भुक्तानी हुनेछ। ऋणपत्रमा आर्जित ब्याजदर प्रत्येक आर्थिक वर्षको पुस मसान्त र असार मसान्तपछि लगानीकर्तालाई दिइनेछ। ऋणपत्रबाट आर्जित पूँजीको ६० प्रतिशत कर्जामा, २५ प्रतिशत सरकारी ऋणपत्र, ट्रेजरी बिल्स आदिमा र बाँकी १५ प्रतिशत शेयर तथा अन्यमा लगानी गर्ने बैंकले जानकारी दिएको छ। इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकसमेत रहेको लाजिम्पाटस्थित एनआइएमबि एस क्यापिटल लिमिटेड, कालिकानगर बुटवलस्थित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र नेपाल धितोपत्र बोर्डका साथै सी–आस्बा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालय र मेरो शेयर एप प्रयोग गरी आवेदन दिन सक्नेछन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *