एमालेको रवैयाप्रति झापा काँग्रेसको चेतावनी

बिर्तामोड । नेपाली काँग्रेसले पटक–पटकको धोखा र एमालेको बेइमानीका कारण झापामा सत्ता साझेदार दलबिचको सहकार्य हुन नसक्ने चेतावनी दिएको छ ।

नेपाली काँग्रेस अर्जुनधारा नगर समितिको आज बसेको आकस्मिक बैठकले नेकपा एमालेसङको राजनीतिक संयन्त्रमा उप्रान्त कुनै सहकार्य नगर्ने निर्णय गरेको हो । सरकार संयुक्त भए पनि एमालेले एकलौटी शासन चलाई नेपाली काँग्रेसका नेता कार्यकर्तामाथि दमन गरिरहेको भन्दै नगरले यस्तो निर्णय गरेको नगर सभापति हेमराज खरेलले जानकारी दिए ।

नेकपा एमालेका नेताहरूले बोलीमा एउटा कुरा र व्यवहारमा अर्कै काम गर्दै आएपछि दुई दलको जिल्ला स्तरीय राजनैतिक संयन्त्रको बैठक समेत लामो समयदेखि बस्न सकेको छैन । पछिल्लो समय अर्जुनधारा ५ का रिता नेपाली र राजवंशी परिवार बिचको जग्गाको सीमा विवाद मिलाउन जाँदा आफ्नो पक्ष नलिएको भन्दै एमाले नेताको उक्साहटमा वडाध्यक्ष गीताराज खडका विरुद्ध जातीय विभेदको मुद्दा दर्ता गरिएकोप्रति नेपाली काँग्रेस अर्जुनधाराले खेद प्रकट गरेको छ ।

विवाद मिलाउन गएका वडाध्यक्षलाई आफ्नो पक्ष नलिए जातीय विभेदमा मुद्दा लगाइदिने भन्दै थर्काउँदै आएकी रिता नेपालीले २० असारमा गीताराजसँग मेलमिलाप गर्ने सहमति पनि गरेकी थिइन् । तर एमाले नेताहरूको दोहोरो भूमिकाका कारण रिताले सिमानाको विवादको विषयलाई जातीय विभेदको झुटा मुद्दा लगाएकी हुन् । जिल्ला स्तरमा समेत एमाले र काँग्रेसका नेताहरूबिच जातीय विभेद नभएको अवस्थामा विभेद भयो भनेर मुद्दा लगाउन नहुने निष्कर्ष पनि निकालिएको विश्वस्त स्रोतले जनाएको छ ।

चुनावदेखि नै विवाद गर्दै आएकी रिता नेपाली वडाध्यक्ष गीताराजलाई अप्ठ्यारोमा पार्न मौकाको पखाईमा थिइन् । अति विपन्न रैथाने आदिवासी समुदायका सदस्य राजवंशी परिवारको चारचुर मात्र जमिनको सिमानामा बारम्बार किचलो गर्दै आएकी रिता नेपालीले आफू जिल्ला समन्वय समितिको सदस्य भएको र आफ्नो राजनैतिक पहुँच माथिसम्मै रहेको भन्दै गरिब राजवंशी परिवारलाई धम्क्याउँदै आएको पीडित परिवारकी सदस्य सुमित्राले बताएकी छिन् ।

हुँदै नभएको जातीय विभेदको मुद्दामा वडाध्यक्षलाई फसाउन एमालेले पुलिसलाई दुरुपयोग गरेकोप्रति नेपाली काँग्रेसका नेताहरूले पार्टीको माथिल्लो निकायमा कुराकानी गरेर एमालेसँगको सहकार्य झापामा कठिन मोडमा पुगेको भनी जानकारी गराएको समाचार स्रोतले जनाएको छ ।

नगर समितिको बैठकमा कोशी प्रदेश सदस्य राजकुमार बराइली, महासमिति सदस्य दीपक तामाङ, ९ नम्बर वडाध्यक्ष भीष्म मिश्र, ६ नं. वडाध्यक्ष हरिश्चन्द्र बास्तोला, ५ नं. वडा सदस्य अर्जुन कँडेल, नगर उपसभापति प्रशान्त भण्डारी लगायतले बैठकमा धारणा राख्दै कानुनको दुरुपयोग र झुटा मुद्दा गर्नेहरू विरुद्ध कानुनी र राजनैतिक सङ्घर्ष गरेर परास्त गरेरै छाड्ने अठोट लिएका थिए ।

एमालेको मनोनीत कोटाबाट जिल्ला समन्वय समिति झापाका सदस्य समेत बनेकी रिता नेपालीले नेपाली काँग्रेस अर्जुनधारा ५ का सभापति तथा वडाध्यक्ष गीताराज खड्कासँगै अत्यन्तै विपन्न सुनिता र सुमित्रा राजवंशीलाई पनि झुटा मुद्दा लगाएको नेपाली काँग्रेस अर्जुनधाराले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *