कोशी प्रदेशको दौडाहामा पूर्वगृहमन्त्री खाँण
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले पछिल्लो समय राजनीतिक सक्रियता तीव्र बनाएका छन्।
पार्टीभित्र लामो समयपछि खुलेर गतिविधिमा उत्रिएका खाँण यतिबेला कोशी प्रदेशको दौडाहामा छन्। बुधवार उनी विराटनगरस्थित ऐतिहासिक कोइराला निवास पुगे। खाँणसँगै कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव पनि थिए। यस भेटलाई नेता शेखर कोइरालाप्रति समर्थनको संकेतका रूपमा हेरिएको छ। पछिल्लो समय शेखर समूहतर्फ ढल्किएका खाँणले अब भने स्पष्ट रूपमा शेखरकै पक्षमा उभिने सन्देश दिएका छन्।
खाँणले कोइराला निवासलाई ‘पवित्र भूमि’ को संज्ञा दिँदै भने, “कोइराला निवास मेरा लागि तीर्थ हो। यो पवित्र भूमि हो। यहाँ कृष्णप्रसाद, बीपी र गिरिजा बसेका थिए। मैले यो भूमिलाई स्पर्श गर्ने चाहना राखेको थिएँ, आज त्यो पूरा भयो।” १५औं महाधिवेशनमा सभापतिका उम्मेद्वार रहेका शेखर कोइरालाको पक्षमा बलियो समर्थन देखाउँदै खाँणको सक्रियता बढ्नु कांग्रेसभित्रको गुटगत समीकरणमा नयाँ मोड ल्याउने संकेतका रूपमा हेरिएको छ।