पार्टीमा देखाइएको हावाको झोक्काकोपछि नलाग्र्न र पार्टी निर्माणमा एकताबद्ध हुन ओलीको निर्देशन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टीमा जबरजस्त देखाइएको हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्ध हुन निर्देशन दिएका छन् ।
कर्णालीका केन्द्रीय सदस्यहरूलाई सामूहिक भेट दिँदै ओलीले भर्खरै सकिएको केन्द्रीय कमिटी बैठकमा कर्णालीको एकताबद्ध सन्देश प्रवाहमा धन्यवाद दिए । भेटमा ओलीले संघर्षपूर्ण इतिहासमा ठूल्ठूला तुफानहरूको सामना गरेर आएको एमालेका लागि पछिल्लो पटक देखाउन खोजिएको सानो हावाको झोक्काले केही असर नपार्ने बताए । ‘सिंगो एमाले पार्टी र हामी नेताहरू संघर्षपूर्ण इतिहासमा ठूला-ठूला आँधीबेहरी र तुफानको सामना गरेर अहिलेको अवस्थासम्म आइपुगेका हौँ । अहिले बाहिर देखिएको यो त सानो हावाको झोक्का हो । सामान्य रूपमा समाधान हुन्छ । तपाईँहरू यसमा अल्मलिनु भन्दा आ-आफ्नो जिम्मेवारीमा रहेको भूगोल र क्षेत्रको पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नुहोस् ।’
एमालेले पछिल्लो समय लिएको नीति र देश विकासमा पार्टी नेतृत्वमा गठन भएको सरकारले गरेका लोकप्रिय काम देखेर अत्तालिएका शक्तिका कारण पार्टीभित्र अस्थिरताको हावा चलाएको भन्दै ओलीले त्यसको लहडमा सम्मानित व्यक्तित्व (विद्या भण्डारी) लाग्नु सिंगो एमालेका लागि दुःखद कुरा भएको बताएको बताइएको छ ।