क्यानको बोर्ड बैठक बिहीबार बस्ने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक भोलि बिहीबार बस्दै छ । बैठकमा एनपीएलको पहिलो संस्करणबारे समीक्षासहित दोस्रो संस्करणको आयोजनालगायत विभिन्न विषयमा छलफल हुँदैछन् ।

नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले दुई मुख्य विषयहरू एनपीएल र राष्ट्रिय टोलीको विश्वकप यात्रा रहेको बताए । एनपीएलको पहिलो संस्करण गत मंसिर-पुसमा भएको थियो । पहिलो संस्करणबाट प्राप्त भएका उपलब्धि तथा दोस्रो संस्करणका लागि थप गर्न सकिने विविध विषयहरूमा छलफल हुने बुझिएको छ । दोस्रो संस्करणका लागि अक्सनको मिति पनि तय भइसकेको छ ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्द आगामी बोर्ड बैठकबाट एनपीएलको हिसाबकिताब सार्वजनिक गर्नेबारे पनि छलफल गर्ने बताउँदै आएका छन् । एनपीएलको पहिलो सिजनको आर्थिक विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ । एनपीएलको पहिलो सिजनको हिसाबकिताब सार्वजनिक नगरिएको भन्दै बोर्ड सदस्यहरूले अध्यक्षलाई पत्र लेख्दै ध्यानाकर्षण समेत गराएका थिए । त्यसलाई सुझावको रूपमा लिएको समेत बताउँदै चन्दले प्रक्रियागत त्रुटिहरू भएको हुनसक्ने भन्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *