चाडपर्व सुरक्षा योजना, उपत्यकामा ६ हजार प्रहरी खटिने

काठमाडौं । प्रहरीले यो पटक पनि चाडपर्वलक्षित सुरक्षा रणनीति बनाएको छ । चाडपर्वमा विभिन्न प्रकारका अपराधका घटना हुन सक्ने भन्दै प्रहरीले अन्य अवस्थाभन्दा यस समयमा विशेष योजना ल्याउँदै आएको छ । यो पटकको दसैँ, तिहार, छठ लगायतका चाडपर्वलक्षित सुरक्षा योजना तयार पारिएको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दानबहादुर कार्कीले जानकारी दिए । उनी भन्छन्, यो पटकको चाडपर्व अन्य वर्षको भन्दा भिन्न छ । तर, हामी भवनभन्दा पनि भावनाले काम गर्ने संगठनका सदस्य भएका कारण नागरिकको सुरक्षाका लागि योजनासहित नै सुरक्षामा खटिन्छौँ । एआईजी कार्कीका अनुसार, उपत्यकामा कुल ६ हजार १०६ प्रहरी नियमित ड्युटीमा खटिने छन् ।

बढी भिडभाड गर्ने क्षेत्रहरू तथा आर्थिक कारोबार हुने क्षेत्रमा सादा पोसाकका प्रहरीको टोलीसमेत खटाइएको छ । त्यो बाहेक यात्रुको सेवाका लागि प्रहरीले बसपार्कलगायत विभिन्न ठाउँमा यात्रु सहायता कक्षासमेत राखेको छ । कार्यालयका एसएसपी शेखर खनालका अनुसार, प्रहरीले रातिको समयमा पनि अपरेसन गर्न थालिसकेको छ । सादा पोसाक तथा विभिन्न समूहमा उच्च मनोबलका साथ प्रहरीलाई ड्युटीमा खटाइएको उनको भनाइ छ । जेनजी प्रदर्शनका कारण प्रहरीका साधान तथा भवनहरू जलेका कारण केही सवारीसाधनको अभाव देखिए पनि सुरक्षाका कुनै कमजोरी नगर्ने एसएसपी खनालको भनाइ छ । भदौ २३ र २४ मा जेनजी समूहले गरेको प्रदर्शनका कारण प्रहरीको हतियार तथा भवन जलेका थिए । जेनजीको हिंसात्मक प्रदर्शनकै कारण तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजनीनामा दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *