आईजीआई प्रुडेन्सियलद्वारा नयाँ बीमा योजना सार्वजनिक

काठमाडौं । नेपाललाई सुरक्षित र विश्वासिलो पर्यटकीय गन्तव्यका रूपमा अघि बढाउन आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले नयाँ बीमा योजना सार्वजनिक गरेको छ। हिमालयन गार्डियन नेपाल (एचजीएन) ट्रेकिङ तथा सुरक्षा उपकरण व्यवस्थापन कम्पनीसँगको सहकार्यमा ल्याइएको यस योजनाले नेपालमा आउने विदेशी पर्यटकलाई लक्षित गरिएको छ। यो बीमालेखले सांस्कृतिक तथा शैक्षिक भ्रमण गर्ने, पदयात्रा गर्ने र हिमाल आरोहण गर्ने पर्यटकलाई छुट्टाछुट्टै सुविधा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार यात्राको क्रममा दुर्घटना भएमा नगदरहित उपचार सुविधा दिइनेछ। साथै प्रत्येक पर्यटकलाई सेटेलाइट जडित विशेष उपकरण उपलब्ध गराइनेछ जसको प्रयोग गरी उनीहरूले आपतकालीन अवस्थामा तत्काल उद्धार सेवासँग प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन्।

यसरी आवश्यक परेमा स्थलमार्ग वा हेलिकप्टरमार्फत तुरुन्तै अस्पतालमा पुर्‍याई उपचार गर्न सकिनेछ। यस बीमालेखले उद्धार खर्च, अस्पताल उपचार, शल्यक्रिया, औषधोपचार, उचाइजन्य समस्या, स्थायी अपाङ्गता वा मृत्यु लाभ लगायतका विषयमा कभरेज दिनेछ। साथै,चौबीसै घण्टा बहुभाषिक हेल्पलाइन र अन्तर्राष्ट्रिय उद्धार संस्थामार्फत निरन्तर सहायता उपलब्ध हुनेछ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठका अनुसार यस योजनाले नेपाललाई अझ सुरक्षित गन्तव्यका रूपमा प्रस्तुत गर्ने मात्र नभई पर्यटकको बसाई अवधि लम्ब्याउन पनि सहयोग पुग्नेछ। उनले नेपालमा दर्ता भएका ट्रेकिङ तथा पर्यटन संस्थामार्फत यो बीमा सजिलै खरीद गर्न सकिने व्यवस्था गरिएको बताए। श्रेष्ठले कम्पनीको लक्ष्य केवल बीमा बेच्ने मात्र नभएर नेपालमा आउने प्रत्येक पर्यटकलाई सुरक्षित महसूस गराउनु र संकटको बेला तत्काल जीवनरक्षा गर्न सक्नु पनि भएको बताएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *