आज नवरात्रको आठौँ दिन, महागौरीको पूजा गरिँदै

नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ । दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत नष्ट गराउने शक्ति रहेको पाइन्छ । शास्त्रीय मान्यताअनुसार यी देवीको उपासनाले भविष्यमा समेत पाप–सन्ताप नष्ट हुने विश्वास गरिन्छ । सेतो वर्ण र सेतो पहिरन धारण गरेकी, वृष वाहन भएकी, चार हात भएकी देवीलाई महागौरी भनिन्छ । यी देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा त्रिशूल छन् भने बायाँ हातको माथिल्लो हातमा डमरु र अर्को बायाँ हातमा वरमुद्रा छन् । यी देवीको मुद्रा शान्त खालको देखिन्छ । माताको स्वरूप गोरो वर्णको छ भने यीनका सबै कपडा र गरगहना पनि सेतै छन् । शिव पुराणका अनुसार महागौरीलाई आठ वर्षको उमेरमा पूर्वजन्मको आभास भएको थियो, त्यसैले आठ वर्षको उमेरबाट नै श्रीमाहादेवलाई स्वामी पाउने विश्वाससहित कठोर तपस्या प्रारम्भ गरेकी थिइन् । बाल्यकालमा पार्वती हुँदादेखि नै शिवलाई पति पाउन कठोर तपस्या गरेकी महागौरीको प्रतिज्ञा थियो( ‘महादेवलाई पाए वरण गर्छु, नत्र कुमारी नै भएर बस्छ’ यस कठोर तपस्याका कारण उनको शरीर अत्यन्त कालो भएको थियो । यिनको तपस्याले प्रसन्न भएका शिवजीले गंगाजलमा नुहाइदिएपछि उनी गोरी बनिन् र त्यसै कारण उनको नाम गौरी रहन गयो । यी देवीको शक्ति अमोघ र प्रत्यक्ष फल दिने मानिन्छ । यस भगवतीको आराधनाले भक्तजनहरूको सबै दोष नाश हुने तथा भविष्यमा पनि बाधा नआउने विश्वास गरिन्छ । मोक्ष प्राप्तिको चाहना गर्नेहरूले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी उच्च योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ । आजको दिन विभिन्न शक्तिपीठहरूमा बलि दिइन्छ । सात्त्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ । सात्त्विक पूजामा जल, चन्दन, अक्षत आदिसहित षोडशोपचारले पूजा गरिन्छ । सात्त्विक र राजसमा पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ । राजस पूजामा मदिरा चढाएर पूजा गर्ने र पशुबलि दिने परम्परा छ । उपत्यकाभित्र गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, वज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायतका शक्तिपीठमा बलिसहित पूजाआजा गरिन्छ । उपत्यकाबाहिर गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नजस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नालाभगवती र पलान्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायतका शक्तिपीठहरूमा पनि बलिसहित पूजा तथा आराधना गरिन्छ । पशुबलि नचढाउनेहरूले भने पूजा कोठामा आफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिन्डो, मूला र नरिवल आदिलाई बलि चढाई पूजाआजा गर्ने गर्छन् । यस दिन आफूले प्रयोग गर्ने कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेष सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने परम्परा छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।

महागौरी मन्त्र :

ओम देवी महागौर्यै नमः।।

महागौरी प्रार्थना :

श्वेते वृषेसमारूढा श्वेताम्बरधरा शुचिः ।

महागौरी शुभं दद्यान्महादेव प्रमोददा ।।

महागौरी स्तोत्र पाठः

सर्वसंकट हंत्री त्वंहि धन ऐश्वर्य प्रदायनीम् ।

ज्ञानदा चतुर्वेदमयी महागौरी प्रणमाभ्यहम् ।।

सुख शान्तिदात्री धन धान्य प्रदीयनीम् ।

डमरूवाद्य प्रिया अद्या महागौरी प्रणमाभ्यहम् ।।

त्रैलोक्यमंगल त्वंहि तापत्रय हारिणीम् ।

वददं चैतन्यमयी महागौरी प्रणमाम्यहम् ।।

महागौरीको ध्यान मन्त्र :

वन्दे वांछित कामार्थे चन्द्रार्घकृत शेखराम् ।

सिंहरुढा चतुर्भुजा महागौरी यशस्वनीम् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *