सीसीटीभी जडान गर्दा करेन्ट लागेर मृत्यु
काठमाडौं । सीसीटीभी जडान गर्ने क्रममा करेन्ट लागेर जुम्लाका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–१ आचार्यबाडा घर भई हाल पातारासी गाउँपालिका–५ लासी बजारमा होटल सञ्चालन गर्दै आएका ३१ वर्षीय अर्जुन महतारा छन् । आइतबार राति करिब साढे १० बजेतिर घरमा सीसीटीभी क्यामरा जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको जुम्लाका डीएसपी रबिनबाबु रेग्मीले जानकारी दिए । महताराले केही म्युजिक भिडियोमा अभिनय पनि गरेका छन् ।
















