नेपाल लाइफ इन्स्योरेन्सलाई ‘डबल ए माइनान्स’ रेटिङ
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘डबल ए माइनान्स’ रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता उच्च रहेको र जोखिम न्यून रहेको मानिन्छ । नेपाल लाइफले सन् २००१ देखि जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ । कम्पनीले हाल देशभर करिब १९० भन्दा बढी शाखा विस्तार गर्दै आएको छ । अनुभवी सञ्चालक समिति र दक्ष व्यवस्थान समूह मिलेर सञ्चालन हुँदै आएको यस कम्पनीले जीवन बीमा क्षेत्रमा सबैभन्दा ठूलो बजार हिस्सा राख्दै आएको छ । कम्पनीको कुल बीमा आम्दानीमा २५ प्रतिशतभन्दा बढी अंश रहेको छ । जसले कम्पनीको नाफा र प्रिमियम बढाउन सहयोग पुगेको छ । कम्पनीको पहिलो वर्षको प्रिमियममा केही उतारचढाव भए पनि नवीकरण प्रिमियम आम्दानीले उल्लेखनीय नाफा कमाउँदै आएको छ । कम्पनीको लगानीको गुणस्तर पनि राम्रो मानिएको छ । स्थिर आम्दानी दिने निक्षेप र साधनहरूमा गरिएको लगानीले कम्पनीलाई सुरक्षित प्रतिफल दिलाएको छ । हाल ब्याजदर घट्दो क्रममा भए पनि कम्पनीले झन्डै ९।३ प्रतिशतसम्म औसत ब्याज दर पाएको छ । कम्पनीको करिब ९९ प्रतिशत व्यवसाय बचतमुखी बीमामा आधारित रहेको छ, जसले दीर्घकालीन स्थायित्व र बजारमा बलियो उपस्थिति कायम गर्न सहयोग पुर्याएको छ । २०८२ साउनसम्ममा कम्पनीको सॉल्भेन्सी अनुपात करिब १४५ प्रतिशत रहेको छ, जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम मापदण्ड १३० प्रतिशतभन्दा माथि हो । कम्पनीले आफ्ना बीमा जोखिमहरूलाई नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेड मार्फत पुनर्बीमा गरेको छ ।
















