नेपाल जोगाउने शक्ति अघि बढ !
इतिहासमा कहिले काहीँ यस्तो पनि मोड आउने रहेछ, जुन मोडमा सत्य मर्ने र असत्यको साम्राज्य चल्ने रहेछ । संसारमा यस्ता घटना कैयौँ पटक घटेका छन् । मान्छे असत्यको भ्रमण परेर त्यसैलाई यथार्थ, सत्य र वास्तविकता मान्न विवश हुन्छन् । अहिले नेपालमा त्यस्तै भएको छ । राष्ट्र, जनता र लोकतन्त्रको दुवाई दिएर राष्ट्रघाती, जन द्रोही र अलोकतान्त्रिक काम गर्नेहरूलाई नेपालीले जनताको पक्षमा खडा हुने ‘भगवान्’ ठानेका छन् । जनताले पत्याएका र आफ्नो विश्वासको मत दिएर चुनी पठाएका प्रतिनिधिहरू गलत बाटोमा हिँडेपछि बाघको छाला ओढेका स्यालहरूको चकचकी हुनु स्वाभाविक छ । घटनाक्रमले नेपाली भूमिमा राज गर्ने गलत तत्त्वलाई निर्वस्त्र बनाएको त छ तर अकल्पनीय क्षति बेहोरेपछि । माओवादी हिंसा कालपछि मुलुकमा भित्रिएको विदेशी शक्तिको प्रत्यक्ष हस्तक्षेप अहिले नाङ्गो रूपमा देखा परेको छ । माओवादीभन्दा पनि अघि नेपालमा अप्रत्यक्ष भूमिका खेल्ने र दबाब बनाउने अङ्ग्रेज, भारत, र पश्चिमाहरूले निश्चित सीमा निर्धारण गरेका थिए । तर जब माओवादी राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकतामाथि सौदाबाजी गरेर सत्ताको लालचमा पस्यो तब छिमेकी मित्रराष्ट्र मात्र होइन पराचक्रीहरु पनि सलबलाउन थाले । माओवादीले आफ्नो निहित स्वार्थका लागि आतङ्कवादी समूहहरूसँग हतियार र आतङ्क सृजना गर्ने कलाको प्रशिक्षणका लागि सम्झौता गरेर मानवताविरुद्ध गम्भीर अपराधको संस्थागत श्रीगणेश ग¥यो । झन्डै बिस वर्ष हालीमुहाली गरेर अकूत सम्पत्ति कमाएपछि पनि सत्ता, सम्पत्ति र अनुचित वैभवका लागि ऊ जे पनि गर्न तयार छ । भदौ २३ र २४ को विध्वंसमा कथित जेनजी समूहको नाम भएपछि त्यसका पछाडि कस कसको हात छ भन्ने बिस्तारै खुल्दै छ । सत्ता स्वार्थका लागि माओवादी, रास्वपा, राप्रपा, अमेरिकन प्यारा बालेन एन्ड कम्पनीहरूले यसलाई सुनियोजित रूपमा हिंसा, आतङ्क र विध्वंसको राज खडा गर्न समुदाय दण्ड भेदको प्रयोग गरेको कुरा अब ‘ओपेन सेक्रेट’ भइसकेको छ । घटनाक्रमको मिहिन ढङ्गले अध्ययन गर्नै पर्दैन सामान्य उपलब्ध तथ्यले मात्र पनि त्यो कुरालाई पुष्टि गर्दछन् । ओली सरकारको नालायकीको फाइदा उठाएर यी अराष्ट्रिय र असामाजिक शक्तिले इतिहासमा कहिल्यै नभएको मानवीय र भौतिक सम्पत्तिको विनाश गरे ।
माओवादीको जङ्गलराजकै ‘वाइप्रोडक्ट’को रूपमा अमेरिकाले खडा गराएका रवि–बालेनको कथाकथित लोकप्रिय समूहले नेपाल र नेपालीमाथि प्रत्यक्ष–परोक्ष हमला गरेको लामो समय भइसकेको छ । यो ‘अनमिन’को उपस्थितिपछि नै संस्थागत भएको हो । अनमिनको मुकाम खडा गरेपछि उसकै नेतृत्वमा जातीय क्षेत्रीय, साम्प्रदायिक, लैङ्गिक जस्ता अनेक वितण्डा खडा गरिए । बिस्तारै अमेरिकी यूथ भनेर कलेजहरूमा अमेरिकन शक्ति गैर कानुनी र अनुचित रूपले प्रवेश गर्यो । गणतन्त्र स्थापनाको अभियान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा पश्चिमा शक्तिले ठाडो हस्तक्षेप ग¥यो र उसले आफ्नो चाहना अनुसारकै संविधान निर्माण गर्यो । त्यसमा छिमेकी भारतले आफ्नो पराजय ठान्न पुग्यो । र, उ यो संविधान खारेज गराउन लाग्यो । नेपाल मामिलामा ती दुई शक्तिको द्वन्द्वले गम्भीर असर पर्यो । त्यसले नेपाली धर्तीमा अस्थिरताको कहिल्यै नमर्ने बिरुवा रोप्यो । अहिलेको सत्यदासको मूल कारण त्यही थियो । नेपाललाई आफ्नो इसारामा नचाउने र आफ्नो स्वार्थको गोटी बनाउन चाहनेहरू त्यही अस्थिरताको जगमा खडा भएर गतिविधिहरू गरिरहेका छन् । तिनले नेपाललाई सिद्धाउन आफ्नो इसारामा चल्ने तर क्षमता, योग्यता र हैसियत केही नभएकाहरूलाई ‘बुख्याचा’ बनाएर चुनावको नौटङ्की मञ्चन गरिरहेको छ । चुनाव गराउने त तिनको मकसद नै छैन । कदाचित मति भ्रष्ट भएका राजनीतिक दलहरूलाई उठ्नै नसक्ने गरी समाप्त पार्न सकियो भने डमी उम्मेदवार खडा गर्ने र त्यसैलाई विजयको माला पहि¥याएर वैधानिकता दिने तिनको दाउ छ ।
अहिले सुशीला कार्कीको नौटङ्की सरकार त्यसको कार्यशैली र सरकारमा सामेल पात्र हेर्दा जो कसैले पनि त्यही लख काट्न सक्छ । यस्तो स्थितिमा माओवादी लगायतले ‘जीत’ ठान्नु स्वाभाविक हो तर यो देशको माया हुने जिम्मेवारी बोधको स्वाभाविक हकदार हुनुपर्ने नेपाली काँग्रेस र एमालेको गतिविधिले भने सम्पूर्ण नेपालीलाई निराश बनाएको छ । काँग्रेस एमालेले ‘म्यासीवली’ कार्यक्रम लिएर अघि नबढे र नेपालकै अस्तित्व नरहने पक्का छ र नेपाल नरहेपछि नेपालीको केही रहँदैन ।
















