अपि पावरको नाफा झण्डै आधा गुणाले बढ्यो
काठमाडौ । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा उल्लेखनीय रूपमा बढाएको छ। कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.६१ प्रतिशतले वृद्धि भई २६ करोड २७ लाख रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो तीन महिनामा कम्पनीले १८ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार विद्युत बिक्री आम्दानीमा वृद्धि र वित्तीय खर्चमा कमी आउँदा नाफामा सुधार देखिएको हो। समीक्षा अवधिमा विद्युत बिक्री आम्दानी १३.३१ प्रतिशतले बढेको छ भने कुल नाफा १०.७९ प्रतिशतले वृद्धि भएको छ।
सो अवधिमा कम्पनीको वित्तीय खर्च ३७.५७ प्रतिशतले घटेको विवरणमा उल्लेख छ। नाफा वृद्धि संगै कम्पनीको प्रतिसेयर आम्दानी (EPS) पनि बढेको छ। पहिलो त्रैमासमा EPS ४ रुपैयाँ ७४ पैसा बढेर १७ रुपैयाँ ३० पैसा पुगेको छ। सो अवधिको अन्त्यमा कम्पनीको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ७४ पैसा र मूल्य आम्दानी अनुपात (P/E ratio) १५.६२ गुणा रहेको छ। अपि पावरको चुक्ता पुँजी ६ अर्ब ७ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी ८९ करोड ५७ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।
















