महिलालाई प्रोत्साहन गर्ने हो भने महिलामैत्री नीति आवश्यक छ : अध्यक्ष कार्की
काठमाण्डौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रमा महिलाले लगानी गर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन्। ऊर्जा क्षेत्रमा महिला सहभागिता निकै न्यून रहेको कुरा उठिरहँदा अध्यक्ष कार्कीले महिलालाई प्रोत्साहन गर्ने हो भने महिलामैत्री नीति आवश्यक रहेको औंल्याए। क्षमता हुँदाहुँदै पनि लगानी अभावले कतिपय महिलाहरू यो क्षेत्रमा आउन सक्नु भएको छैन। ऊर्जा क्षेत्रमा जागिरमा मात्रै होइन अब व्यवस्थापनतर्फ पनि महिला सहभागिता बढाउन पर्यो, बुधबार ऊर्जा क्षेत्रमा लेख्दै आएका पत्रकार महिलाहरूसँग कुराकानी गर्दै उनले भने।
ऊर्जा निकै महत्वपूर्ण र गाँस, वास, कपास जस्तै अत्यावश्यक क्षेत्र भएकाले ऊर्जा क्षेत्रको समग्र सुरक्षामा पनि सरकारले ध्यान पुर्याउनुपर्ने उनको भनाइ छ। इप्पानकी सचिव कविता पोख्रेलले यो क्षेत्र प्राविधिक र केही चुनौती रहेकाले महिला सहभागिता कम भएको बताइन्। अझै पनि महिलाहरू घरायसी काममा धेरै अल्झिनुपर्ने अवस्थाका कारण यो क्षेत्रमा आएर पनि धेरै महिलाहरू अगाडि बढ्न नसकेको उनको भनाइ छ। सरकारको नीति पनि महिलालाई प्रोत्साहन गर्ने हुनु आवश्यक छ। महिलालाई कर छुट वा अन्य सुविधा दिइयो भने पनि यो क्षेत्रमा लगानी गर्न महिला आकर्षित हुन्छन्। निकै दुःख गरेर लगानी गरेका आयोजनाको पनि बिजुली खेर जाने अवस्थाले गर्दा पनि महिलाहरूलाई हतोत्साहित गरेको उनको भनाइ छ।
















