विद्युत् डिलमा ४३ करोड अनियमितता, घिसिङ–सिलवालविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालविरुद्ध ४३ करोड रुपैयाँबराबरको अनियमितता गरेको आरोपमा ‘जेनजी मुभमेन्ट’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ। मुभमेन्टका प्रवक्ता विजय शाहका अनुसार बुधबार आयोगमा दर्ता गरिएको उजुरीमा भारतीय कम्पनी पीटीसीसँगको विद्युत् खरिद सम्झौता हतारमा, आवश्यक अध्ययनबिना र अपारदर्शी प्रक्रियाबाट गराइएको दाबी गरिएको छ।
प्राधिकरणले ६.७४ भारतीय रुपैयाँमा विद्युत् पाउन सकिने अवस्थामा ६.९५ रुपैयाँ दरमा सम्झौता गरी राज्यलाई करिब ४३ करोड रुपैयाँ नोक्सान पुर्याएको आरोप उजुरीमा उल्लेख छ। उजुरीमा घिसिङ–सिलवालले पारिवारिक र नातागत प्रभाव प्रयोग गर्दै सम्भावित छानबिन रोक्ने प्रयास गरेको दाबी पनि समावेश गरिएको मुभमेन्टले जनाएको छ। जेनजी मुभमेन्टले अख्तियारलाई तत्काल प्रारम्भिक छानबिन थाल्न, संलग्न मानिएका अधिकारीविरुद्ध मुद्दा दायर गर्न तथा राज्यलाई भएको अनुमानित बिगो असुल–उपर गर्न माग गरेको छ।
















