६० देखि ८० को दशकका ‘हिट मेसिन’ अभिनेता धर्मेन्द्र

काठमाडौं । सिनेमा समाजको एउटा ऐना हो, जसले हामीलाई समाजको राम्रा र नराम्रा दुवै पक्षहरू देखाउँछ । यसैबीच, भारतीय सिनेमामा केही यस्ता नामहरू छन् जसले आफ्नो अभिनय मात्रले हैन, अलग शैलीले पनि मानिसहरूको मन जितेका छन् । यही नामहरूमा अभिनेता धर्मेन्द्र पनि छन्, जसलाई ‘हि–म्यान’ र ‘धरमजी’का नामले चिनिन्छ । उनै अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार निधन भएको छ । उनको अन्त्येष्टि मुम्बईको विले पार्लेस्थित घाटमा सम्पन्न भएको छ । धर्मेन्द्रलाई अन्तिम बिदाइ दिन अमिताभ बच्चन, अभिषेक बच्चन, आमिर खान, लेखक सलीम खान, संजय दत्त, अक्षय कुमार, अनिल कपूर, निर्देशक रमेश सिप्पी, गायक मीका सिंहलगायत थुप्रै व्यक्तिहरू घाटमा नै उपस्थित भएका थिए ।“धर्मेन्द्रजीको निधनले भारतीय सिनेमाको एउटा युगको अन्त्यको संकेत गर्छ । उनी एक प्रतिष्ठित चलचित्र व्यक्तित्व र अद्भूत अभिनेता थिए, जसले हरेक पात्रमा आकर्षण र गहिराइ भरेका थिए । उनले निभाएका विविध भूमिकाहरूले अनगन्ती मानिसहरूको मन छोयो,” अभिनेता धर्मेन्द्रको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गर्दै एक्समा एक पोष्ट गर्दै लेखेका थिए, “धर्मेन्द्रजी उनको सादगी, विनम्रता र जुझारुपनका लागि पनि उत्तिकै मनपराइएका थिए । यो दुःखद् क्षणमा मेरा समवेदनाहरू उनका परिवार, साथीहरू र अनगन्ती प्रशंसकहरूप्रति व्यक्त गर्छु ।” धेरै मानिसहरूले उनलाई मायाले ‘गरम–धरम’ पनि भन्ने गरेका थिए । तर, उनको यो सिनेमाको यात्रा यति सजिलो थिएन । पंजाबबाट मुम्बईसम्मको यात्रामा जीवनका संघर्षहरूले धर्मेन्द्रलाई नयाँ उचाइ दियो, जसका कारण उनको नाम र काम सबैले थाहा पाए । धर्मेन्द्रको जन्म ८ डिसेम्बर १९३५ मा पंजाबको लुधियाना जिल्लाको सहनेवाल गाउँमा एक साधारण सिख–जाट परिवारमा भएको थियो । उनको पूरा नाम धरम सिंह देओल हो । उनका बुबा किशन सिंह देओल एउटा स्कुलमा शिक्षक थिए । उनले आफ्नो विद्यालय शिक्षा फगवाडाको लालटन कलाबाट पूरा गरेका थिए । धर्मेन्द्र सुरुदेखि नै अभिनेता दिलीप कुमारबाट धेरै प्रभावित थिए । उनलाई हेरेपछि उनको मनमा अभिनयको विचार आएको थियो, जुन पछि गएर एउटा तीव्र इच्छा बन्यो । यो इच्छा पूरा गर्न उनी पंजाबबाट मुम्बई पुगे । तर, यहाँ उनलाई धेरै संघर्ष गर्नुपर्‍यो । धर्मेन्द्रले आफ्नो पहिलो फिल्म सन् १९६० मा पाए । उनको पहिलो फिल्म ‘बन्धिनी’ थियो । तथापि, ‘बन्धिनी’ बन्न समय लाग्यो र यसै बीचमा धर्मेन्द्रलाई अर्को फिल्म मिल्यो, जसको नाम ‘दिल भी तेरा हम भी तेरे’ थियो । यसपछि उनलाई थप सिनेमाहरू मिल्दै गए र उनको रोमान्टिक हिरोको छवि बन्यो । धर्मेन्द्रको सिनेमा जीवनको महत्वपूर्ण मोडको रूपमा ‘फूल और पत्थर’ (१९६६) सिनेमालाई लिइन्छ । ‘फूल और पत्थर’ ले धर्मेन्द्रलाई एक सोलो नायकको रूपमा चिनारी दिलायो । यो सिनेमामा उनले एक्सन हिरोको भूमिका निभाए, जुन दर्शकहरूले धेरै मन पराए । उनी रातारात स्टार बन्न पुगे । त्यस समयमा कुनै पनि हिरोको यस्तो शरीर थिएन । यसै सिनेमामा ‘हि–म्यान’को पहिलो झलक देखिएको थियो । यही सिनेमाले उनलाई सर्वश्रेष्ठ अभिनेताको पहिलो फिल्मफेयर पुरस्कार पनि दिलायो । सन् १९७५ मा आएको चलचित्र ‘शोले’ले उनलाई वीरूको भूमिकामा भारतीय सिनेमामा सधैँको लागि अमर बनायो । यो चलचित्रमा हेमा मालिनीसँगको उनको संवाद र अभिनयलाई दर्शकहरूले खूब मन पराए । ६० को दशकको अन्त्यतिर आउँदासम्म धर्मेन्द्रले सफलताको सीढी चढ्न थालेका थिए । तर, उनको लागि प्रतिस्पर्धा कडा थियो । जब ६० को दशकको सुरुआत गरिरहेका थिए, त्यतिबेला शम्मी कपूरको पूर्ण दबदबा थियो । १९७० मा राजेश खन्ना नामक एक तुफान आयो । जब उनले उचाइहरू छुन लागेका थिए, अमिताभ बच्चन नामक अर्को आँधी आइपुग्यो । तर, यी सबैका बीचमा, धर्मेन्द्र शायद एकमात्र यस्तो अभिनेता हुन्, जो ६० देखि ८० को दशकसम्म एक ‘हिट मेसिन’को रूपमा टिकिरहे । धमेन्द्रका भारतमा मात्र नभएर पाकिस्तानमा पनि अत्यधिक प्रशंसक रहेका छन्, ती मध्ये एक पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पनि हुन् । जब नवाज शरीफ एकपटक भारत आएका थिए, तब उनीहरूको भेट भएको थियो । नवाज शरीफले उनको परिवार कारबाट जाँदै गर्दा र बाटोमा उनले धर्मेन्द्रको घरअगाडि कार रोक्न लगाएर उनले आफ्नी श्रीमती र बच्चाहरूलाई धर्मेन्द्रको घर चिनाएका थिए । धर्मेन्द्र आफ्नो व्यक्तिगत जीवनका लागि पनि धेरै चर्चामा रहे । उनले धेरै कम उमेरमै प्रकाश कौरसँग पहिलो विवाह गरेका थिए । त्यतिबेला मिडिया अहिलेजस्तो सक्रिय नभए पनि उनको निजी जीवन प्रश्नको केन्द्रबिन्दु बन्थ्यो । जब उनको नाम अभिनेत्री हेमा मालिनीसँग जोडियो र विवाहको कुरा सार्वजनिक भयो, पत्रिका र समाचारपत्रहरूमा यस विषयमा धेरै लेखिएको थियो । धर्मेन्द्रका पहिलो श्रीमतीतर्फबाट सन्तान भएका कारण उनको लागि स्थिति सजिलो थिएन । मिडियाको दबावको बावजुद उनले र हेमा मालिनीसँग सन् १९८०मा दोस्रो विवाहको निर्णय लिए । दुई परिवारहरूलाई सम्हाल्नु सजिलो काम थिएन । तर, यसको बावजुद धर्मेन्द्रको लोकप्रियतामा कुनै नकारात्मक असर परेन । चलचित्र उद्योग र दर्शक दुवैले उनलाई स्वीकार गरे । मानिसहरूले उनका दुई परिवार रहेको तथ्यलाई स्वीकार गरे । पहिलो श्रीमतीबाट दुई छोरा सनी र बबी देओलसहित चार सन्तान र दोस्रो परिवारबाट दुई छोरी इशा र आहना देओल छन् । विभिन्न एजेन्सीको सहयोगमा ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *