जेठमा महाधिवेशन नभए राप्रपा समाप्त हुन्छ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनको डिलमा पुगेको त्यही दलका नेता, कार्यकर्ताले भन्न थालेका छन् । पार्टी विभाजन कसले गर्दैछ ? नयाँ पार्टी कसरी र कसको नेतृत्वमा बन्दैछ ? असन्तुष्टि केमा हो ? निर्वाचनमा पराजयको जिम्मा अध्यक्षको मात्र हुन्छ ? लगायत सवालमा राप्रपा महामन्त्री डा. धबलशमशेर राणासँग गरिएको कुराकानीको सम्पादित अंशः
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनजीको कार्यशैलीमाथिको प्रश्न तपाईंको समूहले उठाइरहेको छ, किन ?
अब मैले के भन्नु ? निर्वाचनमा हामी जानु हुन्नथ्यो भन्ने मेरो भनाइ थियो । अध्यक्षले ’म पहिलो पार्टी बनाउँछु’, ’अकल्पनीय परिणाम ल्याउँछु’ भन्नुभयो । निर्वाचनमा गइयो, कुनै विना तयारीका साथ गइयो, कुनै संगठन नबनाईकन गइयो र त्यसको परिणाम ९७ प्रतिशत हाम्रा उम्मेदवारहरूको जमानत जफत भयो । यस्तो लज्जास्पद स्थिति राष्ट्रिय प्रजातन्त्र पार्टीको इतिहासमै भएको थिएन । पार्टीका ९७ प्रतिशत उम्मेद्वारको जमानत जफत भइसकेपछि नैतिकता त हुन्छ नि ।
तपाईंहरूको माग चाहिँ ठ्याक्कै के हो ?
हाम्रो एउटै माग हो, एउटै इच्छा हो । निर्वाचन हुन्छ कि हुन्न भन्ने बेलामा हाम्रो महाधिवेशन हुने समय आइसकेको थियो । पदावधि सिद्धिसकेको थियो । केन्द्रीय समितिका हामी सबै पदाधिकारीको पदावधि सिद्धिसक्यो । चुनावमा जाने भएकाले ६ महिना समय थप्यौं, जेठमा महाधिवेशन गर्ने भनेर । हाम्रो भनाइ के हो भने त्यो निर्णयलाई लागू गर्दिनु पर्यो ।
माग भनेको जेठमा महाधिवेशन गर्नुपर्यो भन्ने हो ?
त्यत्ति हो । महाधिवेशनको मिति तय गरेर महाधिवेशनमा जाउँ । जे भइसक्यो भइसक्यो । गएको स्थितिलाई फिर्ता गर्न सकिन्न । यो लज्जास्पद स्थिति राप्रपाले कहिल्यै नभोगेको स्थिति आयो । राप्रपाभित्र कार्यकर्ता अड्न गाह्रो भइराख्या छ । धेरै व्यक्तिहरू पार्टी छोड्ने मनस्थितिमा छन्, छोड्दै पनि छन् । यो सबैलाई रोक्नको लागि नेतृत्व परिवर्तन गरौं, अगाडि जाउँ । त्यसका लागि कार्यकर्तालाई आफ्नो मत अधिकार प्रयोग गर्न दिउँ ।
नेतृत्व परिवर्तन गरौं कि नगरौं तर महाधिवेशन गरौं। त्यसले परिवर्तन गरेछ भने पनि ठिकै छ, गरेनछ भने पनि ठिकै छ। उहाँ नै आउनु भयो भने पनि तपाईंहरूलाई मान्य हुन्छ, हैन त ?
बिल्कुलै । कार्यकर्ताको अभिमत नमान्ने त कुरै आउँदैन नि । तर गर्दै नगर्ने, त्यसलाई महाधिवेशन टार्ने टार्ने गर्ने ।
निर्वाचनमा पार्टीको जुन खालको लज्जास्पद पराजय भयो, यसको नैतिक जिम्मेवारी लिएर अध्यक्षले राजीनामा पनि दिनुपर्छ भन्ने माग छ कि छैन नि ?
हामीले राजीनामा मागेका छैनौँ । राजीनामा दिने नदिने उहाँको नैतिकताको कुरा हो । त्यो हामीले भन्नुको अर्थ पनि छैन । उहाँले आफै विचार गर्नुपर्ने कुरा हो ।
तपाईंहरूको माग अनुसार महाधिवेशन चाहिँ कहिले गर्नुपर्ने ?
केन्द्रीय समितिले, कार्यसम्पादन समितिले जेठमा महाधिवेशन गर्ने भनेर निर्णय गरेको छ । त्यो निर्णयलाई कार्यान्वयन गर्नुपर्यो । अध्यक्षको काम गर्ने कार्यशैली ठीक भएन भन्ने तर उद्देश्य चाहिँ नयाँ पार्टी बनाउने तपाईंको उद्देश्य त त्यो हो नि त । नयाँ पार्टी बनाउने भए त बनाउन गइहाल्थ्यौँ नि । किन महाधिवेशन पछि लाग्थ्यौँ ? अब महाधिवेशन नै नगर्ने, एक–एक साल डेढ–डेढ साल त्यसलाई सार्न खोज्ने, ’स्थानीय निकायको चुनाव आउँछ, बर्षा आउँछ’ भन्दै केही पनि नगर्ने भए यहाँ कार्यकर्ता अडिरहन सक्ने स्थिति छैन ।
नयाँ पार्टी बनाउने उद्देश्य नभए केशरबहादुर विष्ट, दुर्गा प्रसाईजीहरूसँगको पटक–पटकको बैठक चाहिँ किन नि ?
सुरुदेखि नै हामीले के भन्दै आएका छौँ भने एउटै विचारका व्यक्तिहरू, पार्टीहरू, समूहहरू एक ठाउँमा मिलेर जानुपर्छ भन्ने हाम्रो विचार हो । हाम्रो एजेण्डासित मिल्ने सबैजना मिल्नुपर्छ भन्ने विचार हो । अहिले होइन, म जहिले पनि यो एजेण्डासित मिल्नेहरूसित छलफल, विचार, एक ठाउँमा आउनुपर्छ भन्ने त्यो मानसिकता लिएर उहाँहरूलाई भेट्दै आएको छु । राजावादी राष्ट्रवादीको कार्यक्रममा पनि जान्छु । मलाई बोलाएका ठाउँमा कोही नगैदिए पनि गएर भाषण गरिदिन्छु । सानो समूह भए पनि ठूलो भए पनि कम्तीमा उनीहरूले बचाइराखेका छन् यो एजेण्डालाई भनेर ।
दुर्गा प्रसाईजीहरूसँगको बैठकमा के कुरा भइरहेको छ रु नयाँ पार्टी बनाऔँ भन्नुभएको छ कि रु तपाईंहरू पनि राप्रपामा आउनुस् भन्नुभएको छ ?
हामी सबैजना मिलेर सकिन्छ भने एक ठाउँमा बसौँ, नत्र भने सहकार्य गरौँ भन्ने अहिलेसम्मको कुरा हो । सबैसँग यही हो अहिलेसम्म ।
तपाईंले चाहेको पदको बाँडफाँड हो कि नीतिगत सुधार हो पार्टीमा ?
नीतिगत भन्दा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेण्डा त एउटै छ । हाम्रो एजेण्डामा फरक परेको छैन । पराजय पछि पार्टी सुचारु रुपले अगाडि बढ्न सकेन । लज्जास्पद स्थिति भयो । यही परिस्थितिमा यही नेतृत्वमा पार्टी अगाडि जान सक्दैन भन्ने मेरो भनाइ हो । अब यो कार्यकर्ताले यसलाई कसरी लिन्छन् भन्ने कुरा हो । कार्यकर्ताको माझमा महाधिवेशन सबभन्दा ठूलो निकाय हो । पदावधि सिद्धेको पनि ६ महिना भइसक्यो । अब तुरुन्त महाधिवेशनमा जानुपर्छ । अब यो महाधिवेशनलाई टार्ने, यसलाई पछाडि धकेल्ने प्रयास भयो भने दुर्भाग्य दुर्घटना हुन सक्ने सम्भावना छ ।
पार्टीले निर्वाचनमा पराजय भोग्नुको कारण अध्यक्ष राजेन्द्र लिङ्देनजी मात्रैले जिम्मा लिएर हुन्छ ? सबै पदाधिकारीले लिनु पर्दैन ?
सवैको हुन्छ । म पनि निर्वाचित महामन्त्री हुँ । मेरो पनि भागमा केही जिम्मेवारीहरू होला । केही प्रतिशत पर्दो होला । तर कुनै पनि संस्थाको ८० देखि ९० प्रतिशत त्यसको नेतृत्वकै माथि हुन्छ सफल र विफल हुने कुरा । मूल नेतृत्व माथि नै त्यसको सबै सफल र असफल हुने जिम्मेवारी हुन्छ ।
निर्वाचनमा पार्टी यसरी पराजय किन भयो भन्ने छ ?
हाम्रो नेतृत्व चाहिँ एकल निर्णयमा अगाडि बढेको कारणले यस्तो भएको हो । कसैको सुझाव नलिने, सल्लाह नलिने, उहाँलाई मन लागेपछि जे पनि गरिदिने ?
महाधिवेशन गर्दिन त अध्यक्षले पनि कहाँ भन्नुभएको छ र ?
गर्छु भनेर भएन नि, बाटो खोल्दिनु पर्यो नि ।
खोल्न के गर्नुपर्छ र ?
जिल्ला अधिवेशन हुन बाँकी छ । धेरै प्रक्रिया बाँकी छन् नि त । मंसिरमा महाधिवेशन गर्ने कुरा आएकै छ त । स्थानीय निकायको निर्वाचन आइहाल्छ फेरि । अनि स्थानीय निकायको बहानाले फेरि महाधिवेशन टर्छ । चैतमा गर्ने भनेको महाधिवेशन पनि त राष्ट्रिय चुनावको बहानाले टरेको हो ।
महाधिवेशन आफै अध्यक्ष बन्ने रहर लागेको हो तपाईंलाई ?
कार्यकर्ताहरूले छनोट गरे भने बन्ने । पछाडि हट्ने मान्छे होइन म ।
प्रतिस्पर्धामा जानुहुन्छ ?
महाधिवेशन भए जान्छु नि प्रतिस्पर्धामा । अब आफै अध्यक्ष नबनीकन केही होला जस्तो लाग्दैन ।
पार्टीको महामन्त्री हुनुहुन्छ निर्वाचित । अध्यक्षसँग बसेर यी पार्टीका आन्तरिक कुराहरू टुङ्ग्याउनु पर्नेमा पार्टीको आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउनलाई अनेक मान्छे भेट्ने, भेला गर्ने कुरा कसरी पार्टी विधिसम्मत भयो त ?
मैले आन्तरिक समस्याहरू समाधान गर्न नखोजेको होइन । ६ पटक त अध्यक्षको घरै गएको छु । ’यसरी नगर्दिनुस्, मिलेर जाऔँ । सबैजनाको कुरा सुन्नुस्’ भन्दा उहाँले मुखमा हँ–हँ गर्दिनुभयो, कुरा उल्टो गर्नुभयो, मान्नु भएन । अस्ती मत्रै हामी ५ जना महामन्त्री बसेर ’पार्टी चल्न सकेन, पार्टीको स्थिति नाजुक भयो, अब अध्यक्षलाई केही सुझावहरू दिउँ, महाधिवेशनमा जाऔँ, यसरी भएन’ भनेर अध्यक्षजीसित टाइम लियौँ भन्दा उहाँले मेरो फोन उठाउनु भएन । कलब्याक गर्नु भएन ।
मंसिर भित्र भनेको ५–६ महिनामा व्यापक तयारी गरेर महाधिवेशन गर्दा खेरि त्यत्रो ठूलो बिग्रिहाल्छ र ?
स्थानीय निकायको निर्वाचन आइहाल्छ टाउकोमा । अनि स्थानीय निकायको बहानाले फेरि महाधिवेशन टर्छ ।
अध्यक्षज्यू महाधिवेशन गर्न किन मानिरहनुभएको छैन ? तपाईंहरूको बुझाइ के छ ?
त्यो त तपाईंले उहाँलाई सोध्नुस् न । यस्तो लज्जास्पद स्थिति हुँदा म भएको भए म भोलिपल्टै छोड्दिन्थेँ ।
एक साता भित्र महाधिवेशनको मिति तोक्न भन्नु भएको छ । त्यो आईतबार सकिँदै छ । उहाँले त्यो नगर्ने भनिसक्नु भएको छ । माग पूरा हुँदैन भनिसक्नु भयो । अब के गर्नुहुन्छ ?
अब हामीलाई भन्नु भएको छैन । मैले सुनेको पनि छैन । सार्वजनिक रुपमा आइसकेको छ भन्नुहुन्छ भने अब हामी हाम्रो अभिभावकहरूलाई गुहार्न गइरहेका छौँ । जस्तो पशुपति शमशेर, डाक्टर लोहनी, कमल दाइ, हरिबहादुर दाइ, नवराजजी हामी यिनीहरूलाई पनि गुहार्न गइरहेका छौँ ।
पूर्वराजालाई पनि गुहार्नुभयो ?
राजासित पार्टीको सरोकार छैन, हामी राजालाई यसमा मुछ्दैनौँ ।
अभिभावकलाई के भनेर गुहार्नुभयो ?
तपाईंहरूले यो पार्टी बचाइदिनु पर्यो । महाधिवेशन नभए यो पार्टी एक रहँदैन । एक रहन सक्ने स्थिति म देख्दैन ।
के अर्को पार्टी बनाउनु हुन्छ ? कि अध्यक्ष लिङ्देनजीलाई कारवाही गर्नुहुन्छ ?
हामी त्यस्तो काम गर्दैनौँ । कारवाही–सार्वाही गर्ने काम उहाँहरूको हो ।
यतिचाहिँ भन्न सकिन्छ कि आइतबारसम्म अथवा माग पूरा भएन भने पार्टी एक रहँदैन ?
हामीले अल्टिमेटम दिएको छौँ । त्यहाँ पछि साथीहरू बस्छन् । साथीहरूले जे निर्णय गर्छन् मैले पनि त्यही गर्नुपर्छ ।
त्यो भनेको नयाँ पार्टी बन्छ ?
अब साथीहरूले जे भन्छन् त्यही गर्ने हो । धवल शमशेर राणा अध्यक्ष रहेको अर्को पार्टी बन्छ भन्ने छ के । त्यही भएर सोधेको । अब भन्नेले धेरै कुरा भन्छन् । तर अहिले त्यो स्थितिमा हामी पुगेका छैनौँ । हामी यही पार्टीको महाधिवेशन गर्ने प्रयासमा छौँ ।
पार्टी विभाजन हुन्छ कि भनेर चिन्तित नेता, कार्यकर्ता, शुभचिन्तकलाई के भन्नुहुन्छ ?
कार्यकर्ताहरूलाई के भन्छु भने तपाईंहरूले पनि प्रेसर गर्नुपर्यो । पार्टी फुट्न दिनु हुँदैन । महाधिवेशन गराउनु पर्छ समयमा, जेठमा । महाधिवेशन अनन्त काल सम्म भएन भने स्थानीय निकायमा पार्टीले उम्मेदवार नपाउने स्थिति छ । मेरै जिल्लाबाट कार्यकर्ताहरू ’घन्टी’मा गइरहेका छन् भनेर खबर आएको छ । जित्ने वडाध्यक्षहरू गए । अरु पनि जाँदै छन् । अब यस्तो परिस्थितिमा पार्टी छ । अहिले पनि हामी पार्टीलाई निकास दिन्छौँ, कार्यकर्ताको मन बुझेर अगाडि बढ्दैनौँ भने यो पार्टी समाप्त हुन्छ ।
















