लामिछानेको मुद्दामा फेला परेका थप प्रमाण र कागजात पेस गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध लगाइएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी मुद्दामा फेला परेको भनिएका थप प्रमाण र कागजात पेश गर्न महान्यायाधिवक्ताको कार्यालयलाई आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार (माघ ११) मा भएको सुनुवाईपछि उक्त आदेश दिएको हो । सुनुवाइका क्रममा महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अभियोगपत्र दायर भएपछि थप प्रमाण कागज फेला परेकाले मुद्दा संशोधन प्रक्रियामा लैजान मातहत सरकारी वकिललाई निर्देशन दिइएको जिकिर गरेकी थिइन् । महान्यायाधिवक्ता कार्यालयले मुद्दा संशोधनका लागि गरेको निर्णय अवैध रहेको दाबीसहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सिन्धुलीका युवराज पौडेल सफल र कानुनका विद्यार्थी आयुष बडाललगायतलेस सर्वोच्चमा रिट दिएका थिए ।
अब यो विवादमा महान्यायाधिवक्ताबाट थप कागज प्रमाण प्राप्त भएपछि मात्र अन्तरिम आदेशबारे टुंगो लाग्ने छ । यसअघि सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले महान्यायाधिवक्तासँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेशका लागि छलफलमा डाकेको थियो । लामिछानेविरुद्ध लगाइएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ अभियोग संशोधन निर्णय रोक्न माग राखेर सर्वोच्चमा रिट दिएका थिए । महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते कास्की, काठमाडौँ, रुपन्देही र पर्सा जिल्ला अदालतमा दर्ता भएका ‘सङ्गठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ सम्वन्धी अभियोगपत्र संशोधन गर्ने निर्णयपछि वैधताको प्रश्न उठाउँदै सर्वोच्चमा रिट परेको हो । लामिछानेविरुद्ध काठमाडौं, पर्सा, रुपन्देही र काश्की जिल्ला अमदालतमा ति मुद्दा विचाराधीन छन् । चितवन जिल्ला अदालमा भने लामिछानेविरुद्ध सहकारी ठगी मुद्दा मात्र छ ।

















