गगन थापाको डिजिटल नेपाल खाका, पाँच वर्षभित्रै ४ खर्बको आईटी सेवा निर्यात, २ लाख रोजगारीको लक्ष्य

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई आगामी पाँच वर्षभित्र डिजिटल हब बनाउने महत्वाकांक्षी खाका सार्वजनिक गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले सूचना प्रविधिको क्षेत्रमा थोरै सुधार गर्दा पनि ठूलो नतिजा ल्याउन सकिने विश्वास व्यक्त गरे । केही समयअघि कीर्तिपुरको एक सभामा ल्यापटप चलाएरै मासिक ३,४ लाख कमाउन सकिन्छ भनी दिएको अभिव्यक्ति ट्रोलको विषय बने पनि त्यो हावादारी कुरा नभई योजनाबद्ध सोच रहेको उनले स्पष्ट पारे । अघिल्लो सरकारको पालामा अध्यादेशमार्फत गरिएका साना सुधारले पनि सकारात्मक नतिजा देखाएको उदाहरण दिँदै उनले अब थप व्यवस्थित र नीतिगत सुधारको खाँचो रहेको औंल्याए ।

थापाले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई आईटी दशकका रूपमा अघि बढाउने लक्ष्य राख्दै पाँच वर्षभित्रै करिब ४ खर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात गर्न सकिने दाबी गरे। उनको योजनामा २ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने, कम्तीमा २०० नेपाली आईटी कम्पनीलाई विश्वबजारमा विस्तार गर्ने र ३ देखि ५ वटा कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गर्ने लक्ष्य समावेश छ। यसका लागि उनले स्थिर कर नीति, सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादनका लागि ट्यालेन्ट हबु निर्माण, र सार्वजनिक निजी साझेदारीको मोडल अघि सारेका छन्। अब नेपाल फ्रिल्यान्सिङ र बीपीओमा मात्र सीमित नभई आफ्नै डिजिटल उत्पादन निर्माण र निर्यातमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ। सरकारले पनि स्वदेशी प्रविधि र उत्पादनलाई प्राथमिकताका साथ प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *