ओम हस्पिटल अब २ सय शय्याको बन्ने,२०२५ मा ८८ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी

काठमाडौं । चाबहिलस्थित ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले सन् २०२५ मा ८८ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६.१५ प्रतिशत अर्थात् ५ करोड १० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ८२ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको थियो । यसअघि सन् २०२३ मा ७२ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा ७० करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी भएको थियो । तीन दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेको अस्पतालले मुख्यतया गाइनेकोलोजी सेवाबाट आम्दानी वृद्धि गरेको जनाएको छ। सन् १९९५ डिसेम्बरमा स्थापना भएको ओम अस्पतालले १७५ शय्याको पूर्ण सेवा सुविधासहित विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै आएको छ। अस्पतालले सामान्य उपचारदेखि जटिल शल्यक्रिया र परीक्षण सेवासम्म प्रदान गर्दै आएको छ। २४ सै घण्टा आकस्मिक सेवा, आईसीयू तथा क्रिटिकल केयर सुविधा उपलब्ध रहेको अस्पतालले विभिन्न प्रमुख विधामा ओपीडी र आईपीडी सेवा सञ्चालन गरिरहेको छ। ओम अस्पताल अन्तर्गत आईभीएफ, डायलाइसिस, अन्कोलोजी, इमेजिङ तथा प्रयोगशाला सेवा, फिजियोथेरापी, वेलनेस तथा निवारक क्लिनिकहरू सञ्चालनमा छन् । कम्पनीका प्रमुख सेयरधनीमा भोलाप्रसाद रिजालको ५.८५ प्रतिशत र विजय मल्लको ५.०९ प्रतिशत सेयर स्वामित्व रहेको छ। अस्पतालको अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठ रहेका छन्, जो नेपालका अग्रणी रेडियोलोजिस्टमध्ये एक हुन् । सञ्चालक समितिमा प्रमुख विशेषज्ञ चिकित्सकहरू र अनुभवी व्यवसायीहरू रहेका छन् ।

व्यवस्थापकीय नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) यमबहादुर महतले गर्दै आएका छन् । बढ्दो प्रति व्यक्ति आम्दानी, स्वास्थ्य बिमा पहुँच विस्तार, गुणस्तरीय स्वास्थ्य सेवाप्रति बढ्दो जागरूकता, प्रविधिमा सुधार र जीवनशैलीसँग सम्बन्धित रोगहरूको वृद्धिले व्यवस्थित स्वास्थ्य सेवाको मागलाई प्रोत्साहन गरेको अस्पतालले जनाएको छ। अस्पतालले घना बस्ती भएको काठमाडौं उपत्यकामा रणनीतिक रूपमा अवस्थित मल्टी स्पेशलिटी संरचना मार्फत निरन्तर बिरामी आकर्षित गरिरहेको छ, जसले थप आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ। यससँगै हाल १७५ शय्याको अस्पताललाई विस्तार गर्दै २ सय शय्यामा पुर्याउने योजना बनाइएको छ । कुल ८ हजार ५५४.१९ वर्ग मिटर जग्गा क्षेत्रफलमा जम्मा १० हजार ४२३.२२ वर्ग मिटर बुल्ट अप एरिया भएको २०० शय्याको ओम हस्पिटल एन्ड रिसर्च सेन्टर सञ्चालन गर्न लागिएको हो । अस्पतालले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४२ करोड ८५ लाख रुपैयाँ दीर्घकालीन र १६ करोड रुपैयाँ अल्पकालीन गरी कुल ५८ करोड ८५ लाख रुपैयाँ ऋण लिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *