वाणिज्य बैंकहरूको भदौ महिनाको ब्याजदर सार्वजनिक

काठमाडौं । भदौका लागि अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएका कारण अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका हुन् । यद्यपि, केही बैंकहरूले बचत खाताको ब्याजदरमा सामान्य वृद्धि गरेका छन् । एउटा बैंकले ब्याजदर घटाएको छ । यस महिना बचत निक्षेपतर्फ तीनवटा बैंकले ब्याजदरमा सामान्य वृद्धि गरेका छन् । जसमा सरकारी स्वामित्वको कृषि विकास बैंकले बचतमा ०.०३ प्रतिशतले मात्रै ब्याजदर वृद्धि गरेको छ । यसको नयाँ दर २.७८० प्रतिशतदेखि ३.३९० प्रतिशत पुगेको छ । यसपछि प्राइम कमर्सियल बैंकले बचतको ब्याजदरमा ०.०१ प्रतिशतको वृद्धि गर्दै नयाँ दर २.७६० देखि ३.०२० प्रतिशत कायम गरेको छ । माछापुच्छ्रे बैंकले पनि बचतमा ०।०१ प्रतिशत ब्याजदर बढाएर २.७६० देखि ३.०१० प्रतिशत पुर्‍याएको छ । भदौ महिनामा ब्याजदर घटाउने एकमात्र बैंक सिटिजन्स बैंक देखिएको छ । यसले बचतको न्यूनतम दरमा ०.०१ प्रतिशत र अधिकतम दरमा ०.२१ प्रतिशतले कटौती गरेको छ । अब यस बैंकको बचतको ब्याजदर २.७५० देखि २.८०० प्रतिशत मात्र कायम भएको छ ।

वाणिज्य बैंकमध्ये बचततर्फ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले कुनै परिवर्तन नगरी अझै पनि बचतमा सबैभन्दा उच्च ३.७५० प्रतिशतसम्म ब्याजदर दिइरहेको छ । कुमारी बैंकले पनि अधिकतम ब्याजदर दिने गरी नयाँ योजना सार्वजनिक गरेको छ, जसको दर ३.३१० प्रतिशतसम्म पुग्ने देखिन्छ । यस्तै, व्यक्तिगत मुद्दती निक्षेपमा नबिल बैंक र प्रभु बैंकले सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर तोकेका छन् । यस्तै, एनआईएमबी, माछापुच्छ्रे, सानिमा र एनएमबि बैंकले ४.५० प्रतिशतसम्म ब्याज दिने घोषणा गरेका छन् । ब्याजदर स्थिर राख्ने बैंकहरूमा एनआईएमबी, एनआईसी एसिया, हिमालयन, सिद्धार्थ, नेपाल बैंक, प्रभु, लक्ष्मी सनराइज, सानिमा, राष्ट्रिय वाणिज्य बैंक, एसबीआई, नबिल, एनएमबि, स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट र ग्लोबल आइएमई बैंकले भने बचतको ब्याजदरमा कुनै परिवर्तन नगरी साउनकै दरलाई स्थिर राखेका छन् । यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फ भने हिमालयन बैंक, एभरेष्ट बैंक, एनआईएमबी, नेपाल बैंक र एनएमबि बैंकले अधिकतम ३.५० प्रतिशतसम्म ब्याजदर कायम गरेका छन् । भदौ महिनाका लागि बैंकहरूले ब्याजदरमा ठूलो परिवर्तन नगरे पनि निक्षेपकर्ताहरूले प्रभु, नबिल र एनआईएमबी जस्ता बैंकहरूबाट तुलनात्मक रूपमा बढी प्रतिफल पाउन सक्ने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *