नर्भिक हस्पिटलको आईपीओ संस्थागतलाई बिक्री खुला, २१ वैशाखसम्म आवेदन दिनुपर्ने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक बिल्डिङ विधिमार्फत साधारण सेयर (आईपीओ) निष्काशन प्रक्रिया अघि बढाएको छ । कम्पनीले पहिलो चरणमा संस्थागत लगानीकर्ताहरूका लागि सेयर बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँमध्ये २० प्रतिशत अर्थात् २० करोड ४१ लाख २० हजार रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २० लाख ४१ हजार २०० कित्ता सेयर जारी गर्नेछ । जसमध्ये ४० प्रतिशत अर्थात् ८ लाख १६ हजार ४८० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताहरूलाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

नर्भिकको सेयर खरिद गर्न इच्छुक योग्य संस्थागत लगानीकर्ताहरूले वैशाख २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गोप्य शिलबन्दी आशयपत्र पेश गर्नुपर्नेछ । पेश भएका आशयपत्रहरू वैशाख २२ गते साँझ ५ बजे नेप्सेमा खोलिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले गत वैशाख ११ गते योग्य संस्थागत लगानीकर्ताहरुसँग रोडशो कार्यक्रम गरेको थियो । कम्पनीले संस्थागत लगानीकर्ताहरुका लागि सेयर मूल्य १ हजार १ सय रुपैयाँ प्रस्ताव गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *