साफ महिला च्याम्पियनसिपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं । नेपालले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई २–० ले पराजित गरेको छ । यो जितसँगै नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । ६ अंक जोडेको नेपालले जितसँगै समूह चरणमा दुई खेल खेल्दा शतप्रतिशत जित निकाल्यो । टोलीले यसअघि भएको पहिलो खेलमा भुटानविरुद्ध १–० को कठिन जित निकालेको थियो । आइतबार भारतको गोवास्थित जवहारलाल नेहरु रंगशालामा नेपाललाई जिताउन कप्तान रेनुका नगरकोटे र स्ट्राइकर रश्मीकुमारी घिसिङले समान एक गोल गरे । रश्मीले पहिलो हाफको इन्जुरी समयमा नेपाललाई अग्रता दिलाइन् । उनले पेनाल्टी बक्सभित्र रेखा पौडेलको पासमा बललाई जाली चुमाएकी थिइन् । ६२औँ मिनेटमा कप्तान रेनुकाले सुन्दर ‘चिप’ गोल गर्दै अग्रतालाई दोब्बर बनाइन् । अब नेपालले सेमिफाइनलमा समूह ‘बी’को उपविजेतासँग खेल्नेछ । हारसँगै श्रीलंका भने अंकविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणअन्तर्गत दुई खेल खेलेको श्रीलंकाले दुवै खेलमा हार व्यहोर्‍यो । श्रीलंकाले यसअघि भएको पहिलो खेलमा भुटानसँग ४–० को हार व्यहोरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *