समस्याग्रस्त २३ सहकारीको ४७ अर्ब ६० करोड माग दावी, ३ हजार ६ सय सदस्यको पूर्ण भुक्तानी
काठमाण्डौं । संघीय सरकारले समस्याग्रत घोषणा गरेका २३ सहकारी संस्थाका ८० हजार बचतकर्ता मध्ये ३ हजार ६८८ सदस्यले मात्र पूर्ण रुपमा बचत फिर्ता पाएका छन् । हालसम्म विभिन्न चरणमा कुल ८० हजार ८७ दाबीकर्ताहरूको रु.४७ अर्व ६० करोड १३ लाख मागदाबी दर्ता भएकोमा ३ हजार ६ सय ८८ दावीकर्तालाई पूर्ण रुपमा भूक्तनी गरिएको छ । उनीहरुलाई रु.२ अर्व ५४ करोड ६८ लाख माग दाबी भुक्तान गरिएको आर्थिक सर्वेक्षण २०८३।८४ मा उल्लेख छ। त्यसका साथै साथै चालु आर्थिक वर्षको फागुनसम्म ८ हजार ७ सय ६३ दावीकर्तालाई रु.१२ करोड २३ लाख रकम फिर्ता गरिएको छ। समस्याग्रस्त घोषित २३ सहकारी संस्थामध्ये ३ संस्थाको राफसाफ भइसकेको छ भने बाँकी २० समस्याग्रस्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी हुन बाँकी रहेको छ। त्यसैगरी ८२ फागुनसम्म सहकारी संस्थाको सङ्ख्या ३२ हजार ३ सय २५ रहेको छ।
यस अवधिसम्म शेयर सदस्य सङ्ख्या १ करोड १ लाख ६० हजार ९ सय ६३ र शेयर पुँजी रु.१ खर्व ४३ अर्व २९ करोड रहेको छ। सहकारी क्षेत्रमा रु.१० खर्ब २९ अर्व ५७ करोड बचत परिचालन भई रु. ९ खर्ब ५ अर्व ४८ करोड कर्जा प्रवाह भएको छ। गत फागुनसम्म सहकारी क्षेत्रमा ८२ हजार २ सय १६ प्रत्यक्ष रोजगार रहेका छन्। सहकारीसम्बन्धी एकीकृत तथ्याङ्कको लागि विकास गरिएको सहकारी तथा गरिवी सूचना व्यवस्थापन प्रणाली कोपोमिसमा ८१ असारसम्म १८ हजार ८ सय ९७ सहकारी संस्था आवद्ध भएकोमा गत फागुनसम्ममा यस्तो सङ्ख्या १९ हजार ९ सय ३ पुगेको छ। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले नेपालको सहकारी क्षेत्रको नियमन गर्दै ८३४ सहकारी संस्थालाई सञ्चालन इजाजतपत्र प्रदान गरेको छ। यसैगरी बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ तथा नियामकीय मापदण्ड, २०८२ (पहिलो संशोधन)जारी भएको छ।














