कक्षा १२ को नतिजा तयारीमा बोर्ड, असार १० को ‘डेडलाइन’
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आगामी असार १० गतेभित्र सार्वजनिक गर्ने गरी तीव्र तयारी गरिरहेको छ । नतिजा प्रकाशनको पूर्वसन्धामा गरिने प्राविधिक र प्रशासनिक कार्यहरू अहिले द्रुत गतिमा भइरहेका छन्। बोर्डका अनुसार यस वर्ष देशभरका ४८ वटा तोकिएका केन्द्रहरूमा कक्षा १२ को उत्तरपुस्तिका परीक्षण गरिएको थियो । उक्त उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षणको सम्पूर्ण कार्य सफलतापूर्वक सम्पन्न भइसकेको छ ।
विद्यार्थीहरूको भविष्य र शैक्षिक क्यालेन्डरलाई मध्यनजर गर्दै सकेसम्म छिटो नतिजा प्रकाशन गर्ने उद्देश्य बोर्डले लिएको छ । यसका लागि कार्यालय समयबाहेक बिदाका दिनहरूमा समेत बिहान र बेलुका अतिरिक्त समय काम भइरहेको बोर्डले जनाएको छ । अहिले परीक्षा नियन्त्रण कार्यालयमा विद्यार्थीहरूले प्राप्त गरेको अंक प्रणालीमा प्रविष्टि (डाटा इन्ट्री) गर्ने तथा कोडिङ,डीकोडिङ गर्ने प्राविधिक कार्य भइरहेको छ । नतिजा तयारीका सबै प्रक्रियाहरू पूर्वनिर्धारित कार्यतालिका र योजना अनुरूप नै अगाडि बढिरहेका छन् । कुनै प्राविधिक अवरोध नआएमा आगामी असार १० गतेभित्रै कक्षा १२ को नतिजा विद्यार्थीहरूको हातमा पुग्ने विश्वास बोर्डले दिलाएको छ ।

















