प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउनेहरू को हुन् ? सांसद बुढा
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद खडगबहादुर बुढाले प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थर्काउने र हुकुम चलाउनेहरू को हुन् ? भनेर प्रश्न गरेका छन् । प्रधानमन्त्री कार्यालयमा बोलाएर कानुन र संविधानले नचिनेका ‘गिरोह’ले मुलुकमा हुकुम चलाउने काम गरेको भन्दै उनले उनीहरू को हुन् ? भनेर सरकारसँग प्रश्न गरेका हुन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद बुढाले संविधान र कानुनले नचिनेकाहरू प्रधानमन्त्री कार्यालयमा बसेर कालो चस्मा लगाएर मुलुकमाथि शासन चलाउन खोज्ने नयाँ गिरोहका रूपमा देखिएको उनको आरोप थियो । सबै मन्त्रालयमा मन्त्रीहरू देखाउने अनुहार मात्रै भएको र त्यसलाई चलाउने अर्कै अदृष्य शक्ति रहेको उनले जिकिर गरे । सांसद बुढाले मन्त्रालयमा देखिएका ती अदृष्य शक्ति र व्यक्तिहरू मुलुक र लोकतन्त्रका निम्ति शुभसंकेत नभएको पनि बताए । प्रधानमन्त्रीले बुझ्नुभएको छ कि छैन ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्र होइन, संवैधानिक अंग हो ।
यसको काम आवश्यक परेको बेला सरकारमाथि पनि निगरानी राख्ने र राज्यशक्तिमा चेक एन्ड ब्यालेन्स कायम राख्ने हो । अख्तियार कसैको गोजीको संस्था होइन । आज प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफ्नो निर्णय गराउँछ भने भोलि प्रधानमन्त्रीले बदमासी गर्दा कसले छानबिन गर्छ रु कुनै बेला केटाकेटी छँदा पञ्चायतकालमा भूमिगत गिरोहको बारेमा चर्चा गरेको मैले सुनेको थिएँ । ठयाक्कै त्यस्तै लोकतान्त्रिक गणतन्त्रमा एउटा अर्को प्रकारको गिरोहको चर्चा हुन थालेको छ । प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने र हुकुम चलाउनेहरू को हुन् ? तिनीहरू नेपालको संविधान र कानुनले नचिनेका केवल कालो चस्मा लगाएर राज्यका संयन्त्रहरू कब्जा गर्न बसेका नयाँ गिरोहका सदस्य हुन् । जनतामा एउटा गम्भीर चिन्ता छ, मन्त्रालयमा देखिएका मन्त्रीहरू देखाउन अनुहारहरू मात्रै हुन्, वास्तविक निर्णय अरू कसैले गरिरहेको छ भन्ने व्यापक गुनासो छ । यदि, यस्ता आरोपहरू सत्य हुन् भने यो लोकतन्त्रका लागि शुभसंकेत होइन । लोकतन्त्र संस्थाले चल्छ, व्यक्तिले होइन । संविधानले चल्छ, अदृष्य शक्तिहरूले होइन ।
















