प्राइम कमर्सियलले अरुण खोला जलविद्युत् आयोजनामा ३० करोड ऋण लगानी गर्ने
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले हिमालयन इञ्जिनियरिङ्ग एण्ड इनर्जीद्वारा प्रवर्द्धित २ मेगावाट क्षमताको अरुण खोला–२ जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता गरेको छ । सोमबार आयोजित कार्यक्रममा बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर नारायणप्रसाद श्रेष्ठ र प्रवर्द्धक कम्पनीका अध्यक्ष ओमप्रसाद भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
आयोजनाको अनुमानित लागत ४८ करोड ६४ लाख रुपैयाँ रहेको छ । कुल लागतमध्ये प्राइम कमर्सियल बैंकले ३० करोड रुपैयाँ ऋण लगानी गर्नेछ भने बाँकी ३८.३४ प्रतिशत रकम प्रवर्द्धक कम्पनीले स्वपुँजीबाट जुटाउनेछ । प्रवर्द्धकका अनुसार आयोजनाबाट सुख्खायाममा ४.८६४ गिगावाट घण्टा र वर्षायाममा ८.३१९ गिगावाट घण्टा गरी वार्षिक १३.१८ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ । आयोजना १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।
















