क्यान्सर जितेकी पहिलो मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
काठमाडौँ । तेस्रो चरणको कोलोन क्यान्सरलाई समेत जित्न सफल मोडल तथा सामाजिक अभियन्ता डली गुरुङ याक्थुम्बा ‘पाँचौँ संस्करणको मिसेस नेपाल युनिभर्स –२०२६’ मा चयन भएकी छिन् । लन्डन फेशन हाउसद्वारा ललितपुरको झम्सिखेलमा आयोजित ‘क्राउन सेरोमनी’ समारोहमा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य र मिसेस नेपाल युनिभर्सकी निर्देशक एवम् कार्यक्रम आयोजक मनिषा डंगोल श्रेष्ठले डलीलाई ‘पाँचौँ मिसेस नेपाल युनिभर्स –२०२६’ को क्राउन पहिराइदिएका हुन् । नेपालको पहिलो टेलिभिजन (भिजुएल) मोडल समेत रहेकी डली २०४० र ५०को दशककी विज्ञापन तथा फेसन मोडल हुन् । उनले नेपालमा पहिलो पटक निर्माण भएको भिडियो विज्ञापनमा मोडलिङ गरेकी थिईन् । अब आगामी अक्टोबरमा हुने ‘मिसेस युनिभर्स २०२६’ मा नेपालको तर्फबाट डली गुरुङ याक्थुम्बाले प्रतिनिधित्व गर्ने छिन् ।
तीन सन्तानकी आमा डलीले आफूलाई यो उपाधिको लागि श्रीमान् निराकर याक्थुम्बा (१९७४ एडी ब्यान्डका गिटारिस्ट), छोराछोरीहरू र सासू आमा इन्दिरा यक्थुम्बाले प्रेरणा दिएको सो समारोहमा बताइन् । आफूले ‘मिसेस युनिभर्स २०२६’मा सहभागी भएर यस पटक विश्वका महिलाहरू सामु नेपाललाई फरक रूपमा चिनाउने उनले बताइन् । समारोहमा उनले भनिन्,‘क्यान्सरलाई जितेर दोस्रो जीवन पाएकी म प्रकृतिसँग रमाइरहेको बेला पाँचौँ मिसेस नेपाल युनिभर्स –२०२६ मा चयन हुन पाउँदा हर्षित भएको छु । नेपालका महिलालाई विश्व सामु चिनाउन यो महत्त्वपूर्ण प्लेटफर्म हो भनेर श्रीमानसहित परिवारले भनेपछि मिसेस नेपाल युनिभर्स २०२६ लाई अझै उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दछु ।’ मिसेस नेपाल युनिभर्सकी निर्देशक एवम् लन्डन फेसन हाउसकी अध्यक्ष मनिषा डंगोल श्रेष्ठले धेरै संघर्षमा सफलता हासिल गरेकी ‘मिसेस नेपाल युनिभर्स २०२६’ डली गुरुङ यक्थुम्बाले मिसेस युनिभर्समा नेपालको लागि उपाधि ल्याउने विश्वास व्यक्त गर्दै उनलाई समारोहमा शुभकामना दिइन् ।

















