चन्द्रागिरि साकोस ‘ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’ वाट सम्मानित

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’ वाट सम्मानित भएको छ । जुलाई २१, २०२६ मा अस्ट्रेलियाको सिड्नीमा आयोजित विश्व ऋण परिषद (ओकू) को साधारण सभाका अवसरमा उक्त पुरस्कार प्रदान गरिएको हो । डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमार्फत सदस्यलाई सहज, छरितो तथा गुणस्तरीय सेवा उपलब्ध गराउँदै संस्थागत सञ्चालनलाई प्रविधिमैत्री बनाएको योगदानको कदर स्वरूप चन्द्रागिरी साकोसलाई सम्मान प्रदान गरिएको परिषदले जनाएको छ ।

उक्त सभामा नेपालबाट नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाको उपस्थितिमा चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले पुरस्कार ग्रहण गर्नुभएको थियो । विश्व ऋण परिषदले हरेक वर्ष डिजिटल नवप्रवर्तन, सदस्य सेवाको पहुँच विस्तार तथा संस्थागत सञ्चालनमा प्रविधिको उत्कृष्ट उपयोग गरेका बचत तथा ऋण सहकारी संस्थामध्ये उत्कृष्ट संस्थाको छनोट गरी यो पुरस्कार प्रदान गर्दै आएको छ । विश्वभरबाट प्राप्त आवेदनहरूको मूल्यांकनपछि विजेता संस्था चयन गरिन्छ । नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले कार्यक्रम स्थलबाट साकोस आवाजसँग कुरा गर्दै चन्द्रागिरी साकोसले प्राप्त गरेको यो सम्मान नेपालका सहकारी क्षेत्रका लागि अन्तर्राष्ट्रिय पहिचान र गौरवको विषय भएको बताउनुभयो । अस्ट्रेलियामा जारी अन्तर्राष्ट्रिय बचत तथा ऋण सहकारी सम्मेलनमा विश्वका १०० भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागिता रहेको जनाइएको छ । यो अवार्डलाई नेपालको साकोस अभियानको सबैभन्दा ठुलो उपलव्धिको रुपमा लिइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *