व्यक्तिगत कारोबारको लेनदेन नमिलाउँदा रास्वपा सांसद कार्की कालोसूचीमा पर्ने जोखिममा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धनेन्द्र कार्की खातामा पर्याप्त रकम नभएको चेक दिएपछि कालोसूची राख्न सिफारिस भएका छन् । सिन्धुलीको क्षेत्र नम्बर १ वाट निर्वाचित भएका उनी चुनाव जित्दा पनि चेक बाउन्सकै कारण कर्जा सूचना केन्दको कालोसूचीमा थिए । निर्वाचनका समयमा पनि कालोसूचीमा रहेका कार्कीले सांसद निर्वाचित भएसँगे उक्त कारोबार मिलाएर कालोसूचीबाट हटेका थिए । त्यसको ५ महिना पूरा नहुँदै कार्की पुन कालोसूचीमा पर्ने अवस्था आएको हो । उनले करिब ११ महिना अगाडि चितवनमा खरिद गरेको घरको कारोबार मिलान नगर्दा दोस्रो पटक पनि कालोसूचीमा पर्ने अवस्था आएको खुलेको छ । चितवनको खैरहनी नगरपालिकामा मनोज महतोको घर खरिद गरेको रकम भुक्तानीको लागि काटेको चेक नसाटिँदा बैंकले दोस्रो पटक उनलाई कालोसूचीमा राख्न सिफारिस गरेको खुलेको छ ।

११ महिना अघि १ करोड रुपैयाँमा उक्त घर खरिद गरेको र ७० लाख रुपैयाँ सोही समयमा भुक्तानी गरेका कार्कीले बाँकी ३० लाख रुपैयाँका लागि चेक काटेका थिए । कार्कीले ३० लाख रुपैयाँ भुक्तानी गर्न समय लाग्ने भनेपछि महातोले सुसुरारुदल महतोको नाममा चेक काट्न लगाएका थिए । चुनावअघि माघमा नै उक्त चेक नसाटिएपछि कार्की कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको खुलेको छ । २०८२ माघमा पनि उनी कालोसूचीमा परेका थिए । मनोनयन दर्ता भएर दाबी विरोध गर्ने समयपछि उनी कालोसूचीमा परेको भए पनि चुनावपछि उनले कारोबार मिलाएका थिए । सोही घर खरिद गरेको चेक बाउन्समा कालासूचीमा परेका उनले चुनावपछि ३० लाखमध्ये १० लाख रुपैयाँ भुक्तानी गरेर ब्याज सहित २२ लाख रुपैयाँको प्रभु बैंकको चेक दिएको खुलेको छ । तर, उक्त चेक पनि नसाटिएपछि बैंकले चेक जारी भएको व्यक्तिलाई चेक अनादरको प्रमाणपत्र दिएको हो । २२ लाख रुपैयाँको चेक दिएपछि पनि कार्कीले थप ५ लाख रुपैयाँ नगद दिएको खुलेको छ । सोही कारोबार मिलाउन नसक्दा रास्वपा सांसद कार्की पुनः कालोसूचीमा पर्ने अवस्था आएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *