नेपाली महिला खेलाडीमाथि दुर्व्यवहार भयावह : प्रतिवेदन

काठमाडौँ । नेपाली खेलकुद क्षेत्रका महिला खेलाडीहरू विभिन्न प्रकारका दुर्व्यवहारको सिकार भइरहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । नेशनल एसोसिएसन अफ स्पोर्ट्स हेल्थ एन्ड फिटनेस सेन्टर (एनएएसएचएफ नेपाल) ले सन् २०२६ मा नेपालका १५ वटा खेलका २७६ जना महिला खेलाडीहरूमाथि गरिएको अध्ययनले यो निष्कर्ष निकालेको हो । सर्वेक्षणको समयमा उनीहरू २०औँ आइची–नागोया एसियाली खेलकुद तथा अन्य अन्तर्राष्ट्रिय, राष्ट्रिय र क्षेत्रीय प्रतियोगिताहरूको तयारीका लागि प्रशिक्षणमा रहेका थिए । अध्ययनमा १५ वटा खेल समावेश थिए । ती खेलहरूमा कराते, कबड्डी, एथलेटिक्स, भारोत्तोलन, जिम्न्यास्टिक, जुडो, भलिबल, बक्सिङ, उसु, तेक्वान्दो, फुटबल, आर्चरी, बास्केटबल, टेबल टेनिस र रग्बी रहेका थिए। एनएएसएचएफ नेपालका अध्यक्ष प्रोफेसर दिवाकरलाल अमात्यको नेतृत्वमा रहेको ४ सदस्यीय टोलीले २ वर्ष लगाएर उक्त रिसर्च गरेको हो । रिसर्च टिममा खेलकुद विज्ञ कुमारी हिरा पन्त, त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्पोर्ट्स साइन्सका लेक्चरर चन्दन कोजु, त्रिभुवन विश्व विद्यालयका खेल विज्ञ ज्योति गिरी रहेका छन् । नेपाली महिला खेलकुदमाथि हुने यौन उत्पीडनको अवस्थाु शीर्षकको २७ पृष्ठ लामो प्रतिवेदनमा मुख्यतः तीन चरणमा महिला खेलाडीहरू यौन दुर्व्यवहारमा पर्ने उल्लेख गरिएको छ ।
३०.८ प्रतिशत खेलाडीहरूमा दुर्व्यवहार
जसमा कुनै प्रतियोगिताको छनोटको चरणको अति संवेदनशील रहेका बेला करिब एक तिहाइ अर्थात् ३०.८ प्रतिशत खेलाडीहरूले दुर्व्यवहारको सामना गर्ने गरेका छन् । त्यस्तै ३३.३ प्रतिशत खेलाडीहरूले प्रशिक्षण र प्रतिस्पर्धाको समयमा प्रशिक्षकहरूले अवाञ्छित वा नराम्रा शब्दहरू प्रयोग गर्ने गरेको बताएका छन् । यद्यपि डर वा सामाजिक लाञ्छनाका कारण २६.१ प्रतिशत पीडितहरूले यो घटना कसैलाई पनि रिपोर्ट नगरी मौन बस्ने गरेको जनाएको छ । प्रतिवेदनले पीडितहरूमा मनोवैज्ञानिक प्रभाव परेको देखाएको छ । र, मानसिक असर र आवश्यक सुधारहरूको विषयमा उल्लेख गरिएको छ ।
गम्भीर मानसिक प्रभाव
जस अनुसार ६५.२ प्रतिशत पीडित खेलाडीहरूले गम्भीर मानसिक तनावको सामना गर्नुपरेको छ । तिनीहरूमा ४६.३८ प्रतिशतमा नैराश्य, २०.२९ प्रतिशतले असहाय महसुस गरेको र खेल छाड्ने सोच बनाउनेहरूको सङ्ख्या १३.०४ प्रतिशत रहेको छ । यी समस्याहरूले खेलाडीहरूको खेल कौशल र प्रतिस्पर्धात्मक क्षमतामा ह्रास ल्याएको छ । दुर्व्यवहार अन्त्य गर्नका लागि ४६.४ प्रतिशत खेलाडीहरूले देशव्यापी रूपमा चेतनामूलक कार्यक्रम र सशक्तीकरण तालिम सञ्चालन गर्न माग गरेका छन् ।
खेलाडीहरूका मुख्य सुझावहरू
प्रतिवेदनमा दुर्व्यवहार गर्नेहरूलाई कडाभन्दा कडा कानुनी कारबाही गरिनुपर्ने, उजुरी दिनका लागि छुट्टै महिला कक्षको स्थापना गरिनुपर्ने, खेलाडीहरूको शारीरिक रिकभरी र कल्याणका लागि निःशुल्क फिजियोथेरापीको व्यवस्था गरिनुपर्ने तथा पीडितको आवाजलाई नदबाउने र घटना पूर्ण रूपमा गोप्य राखिनु पर्ने बताएको छ । प्रतिवेदनको निष्कर्ष छ, नेपाली खेलकुद जगतमा महिला खेलाडीहरूको सुरक्षा र मर्यादित वातावरण निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो । खेलकुद निकायहरू, सरकार र सरोकारवालाहरूले खेलाडीहरूको सुरक्षाको लागि तत्काल ठोस कदम चाल्नुपर्ने देखिन्छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *