भन्सार जाँच नगरेका आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा
नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसाररपोसार गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले आठ वटा मालबाहक कन्टेनर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले सदरमुकाम जोमसोमसहित जोमसोमरकोरला सडकको विभिन्न स्थानबाट कोरला नाकाबाट शंकास्पद रूपमा मालवस्तु ओसारपोसार गरेको भन्ने गोप्य सूचनाका आधारमा उक्त कन्टेनरहरू नियन्त्रणमा लिएको जनाएको हो। कोरला नाकादेखि भन्सार यार्डमा जाँच नगरी सिधैँ सिल लगाएर मालवस्तु लिएर जोमसोमतर्फ आउँदै गरेको बा प्र ०१-००५ ख २२४५, बा प्र ०१-००६ ख ६२७३, ना ३ ख ७१६०, ना ६ ख ४७४१, को १ ख ५६९६, बा प्र ०१-००६ ख २२४८, ना ६ ख २०२२ र बा प्र ०१-००६ ख ६६११ नम्बरको मालबाहक कन्टेनर जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । कोरलादेखि मालवस्तु लोड गरी भन्सार कार्यालयतर्फ झर्दै गरेका मालबाहक कन्टेनरहरूको कागजपत्र तथा सोधपुछ गर्ने क्रममा उक्त कन्टेनरहरू भन्सार यार्डमा जाँच नगरी सिधैँ सिल लगाइ ल्याइएको प्रहरीको विवरणमा उल्लेख गरिएको छ । प्रहरी निरीक्षक बस्यालका अनुसार मनसुनका कारण विपद् जोखिम न्यूनीकरणको लागि कोरला सडकमा रातिको समयमा सवारीसाधन चलाउन निषेध गरिएको अवस्थामा नियम विपरीत हुने गरी लुकाइछिपाइ चलाउँदै आउँदै गरेको पाइएकाले उक्त कन्टेनरहरू नियन्त्रणमा लिनुपरेको जनाइएको छ । नियन्त्रणमा लिइएका कन्टेनरहरूलाई आवश्यक कारबाहीका लागि मुस्ताङबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षा टोलीसहित राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए ।
















