बागमतीमा राप्रपाबाट ३ मन्त्री

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअनुसार सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुंग्याउने काम अन्तिम चरणमा पुगेको छ । एमालेले मुख्यमन्त्रीसहित २ मन्त्रालय, नेपाली कम्युनिस्ट पार्टीले २ मन्त्रालय र राप्रपाले ३ मन्त्रालय पाउने गरी दलहरुबीच बाँडफाँट भएको छ । आन्तरिक विवादका बीच सरकारलाई समर्थन गरेको राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर तामाङलाई मन्त्री बनाउने तयारी छ। उनीहरुले पाउने मन्त्रालय भने टुंगिन बाँकी छ । मन्त्री बन्ने तयारीमा रहेका राप्रपा प्रदेशसभा सदस्य राजु विष्टले मन्त्रीको सपथग्रहण आज अपराह्न ४ बजेका लागि तय भएको बताएका छन् । ‘मन्त्रीको सपथ ४ बजेलाई छ । हामीले संसदीय दलबाट निर्णय गरेर सरकारलाई समर्थन गरेका छौं । राप्रपा संसदीय दलका नेता उद्धव थापाले बागमतीमा एमालेबाट मुख्यमन्त्री बन्न लागेका किरण थापामगरलाई समर्थन रहेको पत्र पठाएका थिए । तर राप्रपा प्रमुख सचेतक कुमारी तामाङले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई छुट्टै पत्र पठाउँदै राप्रपाले सरकारलाई दिएको भनिएको समर्थन अनधिकृत रहेको जिकिर गरेकी थिइन् । पार्टीको नीति विपरीत काम गरेको भन्दै दलका नेता थापालाई राप्रपाले कारबाहीको तयारी गरेको छ । तर विष्टले त्यसप्रति आफूलाई कुनै चासो नरहेको प्रतिक्रिया दिए । पार्टीले कारबाही गर्ने भनेको छ यस्तो अवस्थामा तपाईंहरू कसरी अगाडि बढ्नुहुन्छ भन्ने प्रश्नमा विष्टले भने, ‘त्यो कुरा के हो थाहा भएन । हेर्दै जाउँ, बुझौं के हुन्छ ।’ उनले संसदीय दलका नेता थापाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएकी कुमारी तामाङ प्रमुख सचेतक नै नरहेको समेत बताए । ‘उहाँ पहिल्यै हटिसक्नु भएको छ,’ विष्टले भने ।
राप्रपा प्रवक्ता भन्छन्– व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन
यता राप्रपाको केन्द्रीय नेतृत्वले भने बागमती प्रदेश सरकार गठनमा पार्टीको समर्थन नरहेको सार्वजनिक रूपमा जनाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन, बागमती प्रदेशमा १२ सांसद भएको राप्रपाबाट एकजना सांसदले एक्लैले समर्थन दिन सक्दैन र मिल्दा पनि मिल्दैन । एकजनाको मात्र भएपनि समर्थन मान्ने हो भने पनि मुख्यमन्त्रीमा दाबी गर्नेको संख्या पुग्दैन, संख्या नपुगी गरिएको दाबीको अर्थ रहनेछैन ।’ पार्टीको केन्द्रीय नीति विपरीत बागमती सरकारलाई समर्थन गरेको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसदीय दलका नेता उद्धव थापालाई कारबाही गर्ने तयारी गरेको स्रोतले जनाएको छ । पार्टीले बुधवार नै नेता थापालाई स्पष्टीकरण सोधेको छ । थापाले भने सपथ नरोकिने बताउँदै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *