पार्टीको निर्देशन अवज्ञा गर्ने तीन प्रदेश सांसदलाई राप्रपाले गर्यो पदमुक्त
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको निर्देशन अवज्ञा गर्ने तीन प्रदेश सांसदलाई पदमुक्त गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको हस्ताक्षरमा जारी विज्ञप्तिमा तीन सांसद पदमुक्त गरिएको उल्लेख छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विपरीत वाग्मती प्रदेश सरकारमा सहभागी भएका राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई केन्द्रीय अनुशासन समितिले पदमुक्तको निर्णय लिएको हो । उनीहरूलाई पदमुक्त गरिएको पत्र वाग्मती प्रदेशसभाका उपसभामुखलाई जानकारी गराइएको छ ।उक्त पत्र प्रदेश सचिवालयमा दर्ता समेत भएको राप्रपाले बताएको छ ।

















