चिरिबाबुले उठाए आशिकाको व्यवहारमा प्रश्न
काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख तथा उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले सांसद आशिका तामाङको व्यवहारमा प्रश्न उठाएका छन् । उनले सांसद पदमा बसेको व्यक्तिले जिम्मेवार भूमिका देखाउन नसकेको बताए । बरु बैठकमा आएर एकोहोरो उपत्यकाका मेयरमाथि गाली गरेको बताए । “उहाँको पहलमा बैठक आयोजना भएको हो होइन मलाई थाहा भएन । उहाँले बैठकमा आएर तथानाम भन्न थाल्नुभयो ।
निचताको पनि परकाष्ठा भयो,” महर्जनले भने, “म उपत्यका मेयर्स फोरमको अध्यक्षको हौसियतमा सबैको तर्फबाट भन्छु, त्यो हुँदै भएन ।” उपत्यकाको फोहोर व्यवस्थापन मेयरहरूको मात्र नभएर सबैको दायित्व हुने उनले बताए । उनले आशिका तामाङ सत्तारुढ दलको सांसद भएकाले आफ्नो जिम्मेवारी पनि हुने बताए । तर, उनमा जिम्मेवारीबोध नभएको महर्जनको टिप्पणी छ । बैठकको अध्यक्षता गरिरहेका सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनालाई पटक पटक आग्रह गर्दा पनि बैठकको नियन्त्रण हुन नसकेको महर्जनले बताए । अबका बैठकहरूमा बोलाउँदा बैठकमै अराजक व्यवहार नहुने अवस्था निर्माणका लागि उनले आग्रह गरे ।

















