शिक्षामन्त्रीको निर्देशनपछि त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहका परीक्षाहरू स्थगित
काठमाडौं । रसुवा बाढीका कारण सिर्जित असहज परिस्थितिलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहका परीक्षाहरू स्थगित गरेको छ। विश्वविद्यालयको व्यवस्थापन संकाय र मानविकी तथा सामाजिक शास्त्र संकायले छुट्टाछुट्टै सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि परीक्षाहरू रोकिएको जानकारी दिएका हुन् ।
व्यवस्थापन संकायका कुन-कुन परीक्षा रोकिए ?
व्यवस्थापन संकाय, डीनको कार्यालयका अनुसार हाल सञ्चालन भइरहेका स्नातकोत्तर तहका एमबीएसल, एमपीए, एबीएम, एमबीए, एमएचएम, एमटीटीएम र एमएटीएस कार्यक्रमका तेस्रो सेमेस्टरका नियमित परीक्षाहरू स्थगित गरिएका छन् । यसका साथै भदौ १५ गतेका लागि तय गरिएको एमबीएस प्रथम सेमेस्टरको (मधेश प्रदेशका परीक्षा केन्द्रहरूमा यसअघि स्थगित गरिएको) परीक्षा समेत अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ। त्यसैगरी, मानविकी तथा सामाजिक शास्त्र संकायले पनि भदौ १५ गतेदेखि सञ्चालन हुने भनिएका स्नातकोत्तर तह तेस्रो सेमेस्टरका सबै परीक्षाहरू स्थगित गरेको छ । देशका विभिन्न भागमा प्राकृतिक प्रकोपका कारण भएको धनजनको क्षति र असहज अवस्थाका कारण त्रिवि कार्यकारी परिषदको निर्णयअनुसार यी परीक्षाहरू स्थगित गरिएका हुन् । दुवै संकायले देशको परिस्थिति मूल्यांकन गरी उचित समयमा पुनः परीक्षा तालिका प्रकाशित गरिने जनाएका छन् । विद्यार्थीहरूलाई थप जानकारीका लागि सम्बन्धित संकायको वेबसाइट वा आधिकारिक सूचनामा नजर राख्न अनुरोध गरिएको छ । हिजोमात्र शिक्षामन्त्री सस्मित पोखरेलले सबै विश्वविद्यालयलाई परीक्षा स्थगित गर्न निर्देशन दिएका थिए ।

















