भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७८१ पुग्यो, २५०२ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या आइतबार साँझ ६ बजेसम्म ७८१ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९९, नवलपरासी पश्चिममा १००, तनहुँमा ३७ र चितवनमा २७२ जनाको शव तथा मानव अंग भेटिएको हो । बाढीपश्चात सम्पर्कविहीन हुनेको संख्या दुई हजार ५०२ रहेको छ । सम्पर्कविहीन हुनेमा २५ नेपाल प्रहरी, ४५ नेपाली सेना, १३ सशस्त्र प्रहरी बल नेपाल, १५ जना भन्सार कार्यालयका कर्मचारी, चारजना अध्यागमन कार्यालयका कर्मचारी छन् ।

विभिन्न जलविद्युत् आयोजनमा कार्यरत ९३३, विदेशी ५९२ जना, विदेशीसँगै घुम्न गएका नेपाली १२७ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन कर्मचारी, क्वारेन्टाइन कार्यालयका तीन कर्मचारी पनि सम्पर्कविहीन छन् । यस्तै, रसुवाका ५६२, नुवाकोटका ११५ र मकवानपुरका ६५ जना पनि सम्पर्कविहीन छन् । प्राधिकरणका अनुसार, हालसम्म बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४३५ जनाको उद्धार गरिएको छ । जलविद्युत् आयोजनाका सुरुङबाट २७९ जनाको उद्धार गरिएको जनाइएको छ । नेपाली सेनाले २५४ विदेशी र तीन हजार ६७ नेपालीको हवाई उद्धार गरेको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको छ । सात हजार ८९४ नेपाल प्रहरी, आठ हजार ५२१ जना नेपाली सेना र चार हजार २०३ सशस्त्र प्रहरी खोज तथा उद्धारमा बाढी प्रभावित क्षेत्रमा खटाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *