माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

काठमाण्डौं । रसुवामा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरूङभित्र खोजी गर्ने क्रममा आज आइतबार थप दुईवटा शव फेला परेका छन्। लगातार भइरहेको खोजी तथा उद्धार क्रममा थप दुई शव फेला परेको र घटनास्थलबाट निकालिएको आयोजनाले जनाएको छ। यसअघि शनिबार सुरूङको डिसेन्डर बेसिनको डाउनसाइटबाट दुईवटा शव निकालिएको थियो। शनिबारै उद्धार टोलीले सुरूङभित्रबाट एक चिनियाँ नागरिकलाई जीवितै सकुशल उद्धार गर्न सफल भएको थियो। आयोजना स्थलमा बिहीबारदेखि नै लगातार शव फेला परिरहेका छन्।

बिहीबार एउटा खुट्टासहितको शव फेला परेको थियो भने शुक्रबार थप ६ जनाको शव भेटिएको थियो। हालसम्म फेला परेका शवहरू पहिचान गर्न नसकिने अवस्थामा रहेकाले कुनै पनि शवको सनाखत हुन सकेको छैन। सुरूङभित्र अझै करिब ३०० जना मानिस फसेको हुन सक्ने आशंका गरिएको छ। सुरूङभित्रको जटिल र जोखिमपूर्ण अवस्थाका कारण बेपत्ताको खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन नेपाली सेनासहित कोरियाली टोली, शेर्पा उद्धारकर्ता र सर्च ड्रोन टोली परिचालित छन्। त्यस्तै, विशेष तालिमप्राप्त कुकुर तथा अत्याधुनिक क्यामराको समेत प्रयोग भइरहेको छ। बेपत्ताहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको आयोजनाले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *