विराट एक्स्पोको नवौं संस्करण पुस पहिलो सातादेखि
विराटनगर । पूर्वका उद्योगीहरूको साझा संस्था उद्योग संगठन मोरङको आयोजनामा विराट एक्स्पो २०२६ पुस पहिलो सातादेखि विराटनगरमा सञ्चालन हुने भएको छ । आगामी पौष २ देखि ११ गते सम्म एक्स्पो विराटनगरको डिग्री कलेज मैदानमा हुनेछ । एक्स्पोको मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ । यसका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्स र उद्योग संगठन मोरङ बीच सम्झौता भएको छ । यो सम्झौतासँगै म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ तथा वामवाम हाइड्रेसन ड्रिंक ‘ हाइड्रेसन पार्टनर’ का रूपमा विराट एक्स्पोसँग जोडिएका छन् । झण्डै तीन दशकदेखि उद्योग संगठन मोरङले आयोजना गर्दै आएको विराट एक्स्पो पूर्वी नेपालको महत्वपूर्ण औद्योगिक तथा व्यापारिक प्रदर्शनीका रूपमा स्थापित छ । यस वर्षको एक्स्पोलाई परम्परागत प्रदर्शनीभन्दा फराकिलो बनाउँदै लर्न एण्ड वर्क, बिल्ड, कनेक्ट, इन्फ्लुएन्स, व्यापार विस्तार र मनोरञ्जन लगायतका विभिन्न अवसरसँग जोडिने आयोजकले जनाएको छ। एक्स्पोमा उद्योगी, व्यवसायी, उद्यमी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीति निर्माताको सहभागिता रहने र २ लाख ५० हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा उद्योग संगठनको छ ।
सम्झौता कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले एक्स्ट्रिम इनर्जी ड्रिंकसँगको सहकार्यले विराट एक्स्पोको प्रभाव र पहुँच अझ विस्तार हुने बताए । एक्स्पो उत्पादन र सेवाको प्रदर्शन मात्र नभई उद्योग, व्यापार, उद्यमशीलता, लगानी, रोजगारी र नयाँ अवसरलाई जोड्ने साझा मञ्च भएको राठीको भनाई थियो । विराट एक्स्पो २०२६ का संयोजक विपिन काबराले मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंकको सहभागिताले एक्स्पोमा थप ऊर्जा र आकर्षण थप्ने बताए । साझेदारीलाई ब्राण्ड प्रवद्र्धनमा मात्र सीमित नराखी एक्स्पोका विभिन्न गतिविधि र अवसरसँग जोडिने काबराको भनाइ थियो । एक्स्ट्रिम इनर्जी ड्रिंककी व्यापार प्रमुख सोनिया राणाले विराट एक्स्पोको नवौँ संस्करणमा मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न पाउनु महत्वपूर्ण अवसर भएको बताउँदै एक्स्पोका विभिन्न गतिविधिमार्फत साझेदारीलाई प्रभावकारी र अर्थपूर्ण बनाउने प्रतिबद्धता व्यक्त गरिन् । विराट एक्स्पो २०२६ ले उद्योग, व्यापार, प्रविधि, लगानी, उद्यमशीलता र नयाँ पुस्ताका अवसरलाई एउटै मञ्चमा जोड्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

















