बालकुमारी साकोसको २७औं स्थापना दिवस सम्पन्न
भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७औं स्थापना दिवस विविध कार्यक्रमसहित स्थापना दिवस समारोह सम्पन्न गरेको छ। २७ वर्षअघि २८ जना सदस्य र ७ लाख रुपैयाँ बचतबाट सुरु भएको संस्थाले हाल ६ हजारभन्दा बढी सदस्यलाई समेट्दै २ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्न सफल भएको जनाएको छ। स्थापना दिवस समारोहमा संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठले संस्थाको दिगो विकास र सदस्य हितलाई प्राथमिकतामा राख्दै संस्था अघि बढिरहेको बताउनुभयो। उहाँले सदस्यहरूको आर्थिक तथा सामाजिक हित अभिवृद्धि गर्ने उद्देश्यका साथ संस्थाले आफ्ना गतिविधिलाई निरन्तर विस्तार गर्दै आएको उल्लेख गर्नुभयो। संस्थाका सचिव पृथ्वीराम श्रेष्ठले संस्थाको नीति, कार्यक्रम तथा २७ वर्षे यात्राबारे जानकारी दिनुभयो। उहाँका अनुसार सुरुवाती चरणमा २८ जना सदस्य र ७ लाख रुपैयाँ बचतबाट सुरु भएको बालकुमारी साकोसमा हाल करिब ६ हजार १६ जना सदस्य आबद्ध रहेको समारोहमा जानकारी दिनुभएको थियो । संस्थाको स्थापना र विकासका विभिन्न चरणमा योगदान पुर्याउने सञ्चालक, सदस्य तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै सचिव श्रेष्ठले संस्थाको वर्तमान अवस्थासम्म आइपुग्न सबैको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष सुदीप श्रेष्ठले संस्थाको वित्तीय अवस्थाबारे जानकारी प्रस्तुत गर्नुभयो। उहाँले सदस्यहरूको आवश्यकता र व्यवसायको प्रकृतिअनुसार संस्थाले ४.९९ प्रतिशतदेखि ७ प्रतिशतसम्मको ब्याजदरमा ऋण लगानी गर्दै आएको जानकारी दिनुभयो। प्रस्तुत वित्तीय विवरणका आधारमा संस्थाको वित्तीय अवस्था सुदृढ रहेको समारोह जानकारी दिनुभयो ।
समारोहका प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले संस्थाको ‘बालकुमारी साकोस विशेष बुलेटिन’ विमोचन गर्नुभयो। उहाँले सहकारी संस्थाहरू समुदायको आर्थिक तथा सामाजिक विकासका महत्वपूर्ण साझेदार रहेको बताउँदै सदस्य तथा समुदायको हितमा सहकारीको भूमिका अझ प्रभावकारी बन्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ नेपाल लिमिटेडका कार्यवाहक अध्यक्ष खेमबहादुर पाठकले बालकुमारी साकोस देशका उत्कृष्ट सहकारी संस्थामध्ये एकका रूपमा स्थापित हुन सफल भएको बताउनुभयो । थोरै कर्मचारीबाट ठूलो परिमाणमा वित्तीय स्रोत परिचालन गर्न सफल भएको भन्दै उहाँले संस्थाको प्रशंसा गर्नुभयो। सदस्यहरूलाई ४.९९ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउँदै उनीहरूको आर्थिक उन्नतिमा सहकार्य गरिरहेको उल्लेख गर्दै पाठकले संस्थाको आगामी यात्रा थप सफल र उपलब्धिमूलक बन्ने शुभकामना व्यक्त गर्नुभयो। सदस्यहरूको उल्लेख्य सहभागिताबीच सम्पन्न समारोहको अध्यक्षता संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठले गर्नुभएको थियो भने संस्थाका उपाध्यक्ष महेन्द्रकुमार जोशीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। २७औं स्थापना दिवसका अवसरमा संस्थाले आफ्नो २७ वर्षे यात्राका उपलब्धि, वित्तीय अवस्था तथा सदस्यप्रतिको प्रतिबद्धतालाई प्रस्तुत गर्दै आगामी दिनमा पनि सदस्य र समुदायको आर्थिक तथा सामाजिक हितलाई प्राथमिकतामा राखेर आफ्ना गतिविधिलाई अघि बढाउने जनाएको छ।

















