सेन्चुरी चाउचाउ बजारमा, भाटभटेनीका ४ शाखामा विशेष स्वाद परीक्षण
काठमाडौं । सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली बजारलाई लक्षित गर्दै नयाँ तयारी चाउचाउ सार्वजनिक गरेको छ। मसला तथा स्न्याक्स उत्पादनमार्फत बजारमा पहिचान बनाएको सेन्चुरी ब्रान्डले अब चाउचाउको बजारमा समेत आफ्नो उपस्थिति विस्तार गरेको हो । नेपाली उपभोक्ताको स्वाद, रुचि तथा बदलिँदो जीवनशैलीलाई ध्यानमा राखेर नयाँ चाउचाउ विकास गरिएको कम्पनीले जनाएको छ । व्यस्त दैनिकीमा छिटो र सहज रूपमा तयार हुने खाद्य पदार्थको माग बढिरहेको अवस्थामा फरक स्वाद र गुणस्तरको विकल्प उपलब्ध गराउने उद्देश्यले उत्पादन बजारमा ल्याइएको कम्पनीको भनाइ छ । नयाँ चाउचाउको प्रवर्द्धनका लागि काठमाडौं उपत्यकाका विभिन्न भाटभटेनी सुपरमार्केटमा विशेष स्टल सञ्चालन गरिएको छ। बौद्ध, नक्साल, महाराजगञ्ज र ललितपुरस्थित भाटभटेनीका शाखामा राखिएका स्टलमा पुगेर उपभोक्ताले चाउचाउको नयाँ स्वाद प्रत्यक्ष अनुभव गर्न सक्नेछन् । साथै, उत्पादनसँग सम्बन्धित थप जानकारीसमेत स्टलबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । सेन्चुरीले नेपाली खाद्य बजारमा उपभोक्ताको बदलिँदो रुचिअनुसार उत्पादनमा निरन्तर नवीनता ल्याउने रणनीति अघि बढाएको जनाएको छ । स्वाद, गुणस्तर र सहज उपलब्धतालाई प्राथमिकतामा राखेर उत्पादन विकास गर्दै आएको कम्पनीको भनाइ छ। सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले यसअघि मसला तथा विभिन्न स्न्याक्स उत्पादनमार्फत खाद्य बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ । नयाँ चाउचाउको प्रवेशसँगै कम्पनीले तयारी खाद्य पदार्थको उत्पादन दायरा थप फराकिलो बनाएको छ । कम्पनीका अनुसार नेपाली बजारमा स्वदेशी खाद्य ब्रान्डबीच प्रतिस्पर्धा बढिरहेका बेला उपभोक्ताको माग र स्वादलाई केन्द्रमा राखेर नयाँ उत्पादन ल्याउनु आवश्यक बनेको छ । सोहीअनुसार सेन्चुरी चाउचाउलाई बजारमा स्थापित गर्ने र उपभोक्तामाझ ब्रान्डप्रतिको विश्वास थप बलियो बनाउने लक्ष्य कम्पनीले लिएको छ।
सेन्चुरीले आफ्ना खाद्य उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार गर्दै आएको दाबी गरेको छ । नयाँ चाउचाउमार्फत नेपाली उपभोक्तालाई फरक स्वादको अनुभव दिनुका साथै स्वदेशी खाद्य उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ। नयाँ उत्पादन बजारमा आएसँगै सेन्चुरीले तयारी चाउचाउको प्रतिस्पर्धात्मक बजारमा आफ्नो स्थान बनाउन खोजेको देखिन्छ। उपभोक्ताको स्वाद, उत्पादनको गुणस्तर र बजारमा सहज उपलब्धतालाई मुख्य आधार बनाएर कम्पनीले चाउचाउको बजार विस्तार गर्ने तयारी गरेको जनाएको छ ।

















