कोशी र बागमतीमा भारी वर्षाको सम्भावना, उच्च सतर्कतामा सरकार
काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को असर आज झन् धेरै देखिने मौसमविदले बताएका छन् । त्यसको असरले आज दिनभरि हल्कादेखि मध्यम वर्षा हुने र केही ठाउँमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान छ । पानी पार्ने प्रणालीले शुक्रबार कोशी प्रदेशमा हल्का वर्षा भएको थियो । काठमाडौं उपत्यकामा पनि पानी छिट्याएको थियो । तर आज भने पानीको मात्रा थप बढ्ने र धेरै क्षेत्रमा फैलिने सम्भावना छ । नेपाल मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले ‘अर्नब’ चक्रवात कमजोर भइसके पनि सोको प्रभावले नेपालमा वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना रहेकाले सजग हुनुपर्ने बताइन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आज अपराह्नदेखि रातिसम्म कोशी र बागमतीका धेरै ठाउँमा भारी वर्षाको सम्भावना छ । यसको असर शनिबारदेखि क्रमशः कमजोर बन्दै जाने पूर्वानुमान छ । यसको प्रभाव रहँदासम्म उच्च हिमाली भेगमा हिमपात र तराई–पहाडमा वर्षा गराउने भएकाले उच्च सतर्कताका साथ रहन सबैलाई सरकारले अनुरोध गरेको छ ।
उच्च सतर्कतामा सरकार
‘अर्नब’ चक्रवातका कारण नेपालको हिमालदेखि तराईसम्मै प्रभाव देखिने भन्दै सरकारले सुरक्षा अंगहरुलाई हाई अलर्टमा राखेको छ । विशेष गरी उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम हुने भन्दै थप सजग हुन भनिएको छ । विपद् प्रतिकार्य कमाण्ड पोष्टको विहीबार बसेको बैठकले जोखिम रहेका जिल्लामा जोखिमबारे निरन्तर सूचना लिइराख्न, सर्वसाधारणलाई सु–सूचित गर्न, पूर्वतयारी गर्न र आवश्यक परे प्रतिकार्यका लागि परिचालन हुन तम्तयार अवस्थामा रहन सम्बन्धित सबैलाई निर्देशन दिएको थियो । विपद् प्रतिकार्य कमाण्ड पोष्टको विहीबारको बैठक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै हावाहुरी, चट्याङ, हिउँआँधीसहित ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै देशभरका हिमाली र उच्च पहाडी भेगमा पर्वतारोहण तथा पदयात्रा नगर्न भनेको छ । यदि ट्रेकिङमा गइसकेको भए सुरक्षित ठाउँमा बस्न र किसानहरुलाई यही कात्तिक १४ गतेसम्म धान नकाट्न पनि सुझाव दिइएको छ । महाशाखाका अनुसार चक्रवात ‘अर्नब’ बुधबार बिहान करिब ८ः१५ बजे भारतको आन्ध्रप्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो । जमिनमा प्रवेश गरेपछि यो उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै क्रमशः कमजोर हुँदै गएर गहिरो न्यूनचापीय प्रणाली (डीप डिप्रेसन) मा परिणत भएको छ । गहिरो न्यूनचापीय प्रणालीको प्रभावका कारण विहीबारदेखि नै नेपालभर बादल लागेको थियो । मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद पोखरेलका अनुसार अहिलेको प्रणालीको प्रभावले कात्तिक १४ गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना पनि छ । वर्षा र हिमपातका कारण अघिल्लो दिनको तुलनामा चिसो बढेको महसुस भएको छ । जोखिमयुक्त स्थान तथा सडकछेउमा पहिरो जान सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न पनि महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई भनेको छ । यातायात व्यवसायीहरुलाई सम्बन्धित जिल्लाको प्रहरी र प्रशासनसँग समन्वय गरेर मात्र गाडी चलाउने,नचलाउने निर्णय गर्न भनिएको छ ।
यस्तो छ कात्तिक १३ गतेदेखि १६ गतेसम्मको मौसम पूर्वानुमान
२०८३ कात्तिक १३ गते (शुक्रबार)
दिउँसोः देशभर अधिकांश बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका अधिकांश स्थान र बाँकी भूभागका धेरै स्थानमा मेघगर्जन,चट्याङसहित मध्यमसम्मको वर्षा,हिमपातको सम्भावना छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षारहिमपातको सम्भावना छ। रातिः देशभर अधिकांश बादल लाग्नेछ। देशका अधिकांश स्थानमा मेघगर्जन,चट्याङसहित मध्यमसम्मको वर्षा,हिमपातको सम्भावना छ। देशका थोरै स्थानमा भारी वर्षा,हिमपातको सम्भावना छ।
२०८३ कात्तिक १४ गते (शनिबार)
दिउँसोः कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्नेछ तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन,चट्याङसहित मध्यमसम्मको वर्षा,हिमपातको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षा,हिमपातको सम्भावना छ। रातिः देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा,हिमपातको सम्भावना छ। देशको तराई भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
२०८३ कात्तिक १५ गते )आइतबार)
देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा हल्कासम्मको वर्षारहिमपातको सम्भावना छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सुरकुहिरो लाग्नेछ।
२०८३ कात्तिक १६ गते (सोमबार)
देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका एक(दुई स्थानमा हल्कासम्मको वर्षारहिमपातको सम्भावना छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सुरकुहिरो लाग्नेछ।

















