फोहोर पानी सिधै खोलामा नछाड्न उद्योग विभागको निर्देशन

काठमाडौं । उद्योग विभागले नदी तथा खोलामा प्रशोधन नगरिएको फोहोर पानी सिधै नमिसाउन उद्योगहरूलाई निर्देशन दिएको छ । विशेषगरी दीपावली तथा छठजस्ता चाडपर्वको मुखमा नदी प्रदूषणका कारण स्थानीयलाई समस्या भएको गुनासो बढेपछि विभागले सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । विभागका अनुसार उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्ड विपरीत सिधै खोलामा विसर्जन गरी प्रदूषण बढाएको भन्दै उजुरीहरू प्राप्त भएका छन् । विशेषगरी वीरगञ्ज–पथलैया करिडोरको सिर्सिया नदी आसपास उद्योगहरूले निष्कासन गरेको प्रदूषित पानीले स्थानीयलाई दीपावली र छठ पर्व मनाउन समेत कठिनाइ भएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको विभागले जनाएको छ । यसैलाई मध्यनजर गर्दै चाडपर्वका अवसरमा नदीको स्वच्छता कायम राख्न सम्पूर्ण उद्योगलाई विशेष संवेदनशील हुन आग्रह गरिएको छ ।

विभागले नेपाल सरकारले निर्धारण गरेको वातावरणीय मापदण्ड अनुरूपको पानी मात्रै उद्योगबाट बाहिर पठाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ । साथै, चाडपर्वको समयमा नदी स्वच्छ बनाउन उद्योगहरूलाई आफ्नै ‘डिप बोरिङ’ वा अन्य स्रोतबाट स्वच्छ पानी पठाएर नदी सफा गर्ने कार्यमा थप सहयोग गर्नसमेत अनुरोध गरिएको छ । उल्लिखित व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन भए वा नभएको जाँच्न सरोकारवाला निकायहरूको ‘संयुक्त अनुगमन तथा निरीक्षण’ गरिने सूचनामा उल्लेख छ । जसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग, वातावरण विभाग, प्रदेश अन्तर्गतका उद्योग विभाग, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसम्मको सहभागिता रहने छ । प्रचलित वातावरणीय कानुन तथा मापदण्ड परिधिभित्र रही नदी प्रदूषण नियन्त्रण गर्नु सबैको साझा दायित्व भएको स्मरण गराउँदै विभागले तत्काल आवश्यक व्यवस्था मिलाउन सम्पूर्ण उद्योगलाई सचेत गराएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *