सांग्रिला डेभलपमेन्ट बैंक २३औँ वर्षमा प्रवेश, सेवा विस्तारलाई प्राथमिकता दिने प्रतिबद्धता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ। बैंकले आफ्नो २२औँ वार्षिकोत्सव केन्द्रीय कार्यालय बालुवाटारमा विशेष कार्यक्रम आयोजना गरी मनाएको छ। कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको २२ वर्षे यात्रामा साथ र सहयोग गर्ने संस्थापक, सञ्चालक, ग्राहक, सेयरधनी, कर्मचारी तथा नियमनकारी निकायप्रति आभार व्यक्त गरे। त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत रविन सिजापतीले आगामी दिनमा बैंकका सेवाहरूलाई थप स्मार्ट, आधुनिक र उत्कृष्ट बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमसमेत घोषणा गरेको छ। जसअनुसार हुम्लाको सिमकोटस्थित डाँडाफया स्वास्थ्यचौकीमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिनेछ।

शिविरमा प्रसूति रोग विशेषज्ञमार्फत स्वास्थ्य सेवा उपलब्ध गराइने बैंकले जनाएको छ। यसैगरी, सिमकोट–२ स्थित श्री रामदेव माध्यमिक विद्यालयका १०३ जना विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण गरिने भएको छ। रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ स्थित खुङ्ग्री स्वास्थ्यचौकीलाई एक थान बेबी वार्मर र एक थान अटोक्लेभ ड्रम सेटसमेत उपलब्ध गराउने बैंकले घोषणा गरेको छ। वार्षिकोत्सवकै अवसरमा बैंकमा पाँच वर्ष र १० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। ग्राहकको विश्वास र भरोसाका आधारमा बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारी अभ्यासलाई प्राथमिकता दिँदै आएको बैंकले आगामी दिनमा सेवा विस्तार र गुणस्तर अभिवृद्धिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *