कोसी र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बादल लाग्ने बताएको छ । देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु,कुहिरो लाग्नेछ ।

















