बालेन-मोदीले शुभारम्भ गरेको रेल अयोध्याबाट जनकपुरमा

जनकपुरधाम । भारतको अयोध्याबाट सोमबार हिँडेको सरयू–कमला एक्सप्रेस आज बिहान जनकपुरधाम आइपुगेको छ । रेलमा आएका यात्रु र भारतका प्रतिनिधिलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव र संघीय श्रम मन्त्री रामजी यादवले स्वागत गरेका छन् । दुई दिने राजकीय भ्रमणका लागि आइतबार दिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र साह र उनका समकक्षी नरेन्द्र मोदीले सोमबार अपराह्न हरियो झण्डा देखाएर उक्त रेलको शुभारम्भ गरेका थिए । अयोध्या रेल्वे स्टेसनमा विशेष कार्यक्रम आयोजना गरी नयाँ वन्दे भारत एक्सप्रेस रेललाई हरियो झण्डा देखाएर सेवा शुभारम्भ गरिएको थियो । करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवा जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म सञ्चालन हुनेछ । रेलले बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर तथा स्थानलाई जोड्नेछ । भारतको प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी)का अनुसार यो रेल सातामा एकपटक सञ्चालन हुनेछ । जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट सोमबार रेल छुट्नेछ । रेलले अन्तिम गन्तव्यबाहेक जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक रूपमा यात्रु चढाउने तथा ओराल्ने सुविधा दिनेछ । नयाँ रेल सेवाले नेपाल र भारतबीचको धार्मिक पर्यटन तथा सीमापार आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ । रामायण परम्परासँग जोडिएका माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्यालाई रेलमार्गबाट जोड्दा तीर्थयात्री तथा पर्यटकलाई प्रत्यक्ष लाभ पुग्नेछ । यसले रामायण सर्किटअन्तर्गत धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै शिक्षा, व्यापार र पारिवारिक भेटघाटका लागि सीमापार यात्रा गर्ने यात्रुलाई समेत सहजता प्रदान गर्नेछ। रेलमार्गले जोड्ने क्षेत्रका होटल, पर्यटन व्यवसाय, स्थानीय व्यापार तथा आतिथ्य क्षेत्रमा समेत आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ । नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध रहँदै आएको छ ।

धार्मिक परम्परा र सीमावर्ती समुदायबीचको आवागमन दुई देशको सम्बन्धका महत्त्वपूर्ण आधार हुन् । नयाँ रेल सेवाले यी सम्बन्धलाई थप मजबुत बनाउनुका साथै दुई देशबीचको यातायात सम्पर्क र द्विपक्षीय सहकार्य विस्तारमा योगदान पुर्‍याउने भारतीय रेल मन्त्रालयले जनाएको छ । नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार करिब ६०४ किलोमिटर दूरी तय गर्ने उक्त रेल सेवाले बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर हुँदै जनकपुरधामलाई अयोध्या क्यान्टसँग जोड्नेछ । उनले रेल सेवा सातामा एकपटक सञ्चालन हुने बताए । कम्पनीका प्रबन्ध सञ्चालक पराजुलीका अनुसार निर्धारित समयतालिकाअनुसार रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट प्रस्थान गरी आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्नेछ । त्यसैगरी रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५ः५० बजे अयोध्या क्यान्टबाट प्रस्थान गरी मङ्गलबार दिउँसो १२ः४० बजे जनकपुरधाम आइपुग्नेछ । रेलका जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी रहनेछन् । ती स्थानबाट यात्रु चढ्न तथा ओर्लन सक्ने व्यवस्था गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *